राप्रपाका पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पनि गरे पार्टी परित्याग
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको एक दिनपछि पौडेलले उक्त पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
मंसिरको तेस्रो साता भएको राप्रपाको महाधिवेशनपछि देखिएको विवाद समाधान गर्न पौडेलले थापा र अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद गरेका थिए । तर राप्रपालाई एकजुट बनाउन आफ्नो प्रयास असफल भएकोमा पौडेलले निराशा व्यक्त गरेका छन् ।
‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भरिगथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दु:खी र भावुक भएको छु’ पौडेलले भने, ‘राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहने छ । आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु ।’
थापा अध्यक्ष हुँदा पौडेललाई राप्रपाको कोषाध्यक्षमा नियुक्त गरेका थिए । तर गत महाधिवेशनमा चुनावी प्रतिस्पर्धा नगरेका पौडेललाई लिङ्देनले कार्यसमितिमा मनोनियत गरेका थिएनन् ।