युएईसंग नेपाल पराजित : वर्षाले बिगार्‍यो माहोल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

युएईसंग नेपाल पराजित : वर्षाले बिगार्‍यो माहोल



काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

शनिबार भएको खेलमा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो ।

नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डिएलबाट गरिएको थियो । डिएलमा ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि युएईले १ रनको जित निकालेको हो

वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।

नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेलेका थिए । अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । यस्तै भिमले ५४ बलमा ५३ रनको योगदान दिए ।  हरि र भिमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए  ।

यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे ।

युएईका रिशाब मुखर्जीले ४ तथा मोहमद फाराजुदीनले ३ विकेट लिए ।