...त्यसपछि ब्याक भए केपी ओली - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

…त्यसपछि ब्याक भए केपी ओली



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आकस्मिक रुपमा बोलाउनुभएको एमाले महाधिवेशन आयोजक समितिको बैठकबाट केहि निर्णय गराउन सकेनन् । स्थायी समितिभित्र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेतालाई तत्काल कारबाही गर्ने आशयले बैठक बोलाइएको थियो । तर कारबाही गर्ने वा नगर्ने भन्ने सम्बन्धमा विवाद भएपछि उहाँ हच्किनुभएको बताइन्छ ।

एमाले स्थायी समितिमा अध्यक्ष र महासचिव ईश्वर पोखरेल तत्काल हटाउने पक्षमा एकमत देखिँदै आएका छन् । अन्य धेरैजसोले त्यसो गर्न नहुने अडान लिएपछि प्रधानमन्त्रीले आजको बैठकबाट गर्न खोजेको निर्णय धकेलिएको हो । तर, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ,परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरूले ‘त्यसो गर्न हुँदैन’ भनेपछि आजको बैठकमा निर्णय हुन नसकेको बताइन्छ ।

उनीहरूले हटाउन नहुने सम्बन्धमा तर्क गर्दै भनेका थिए, ‘आखिर उहाँहरूलाई हटाउँदा पनि सरकार ढल्ने हो भने किन हटाउन पर्यो । अवस्था कर्णाली मोडलमा गएर यता फ्लोर क्रस भयो भने हामीले जवाफ दिनै पर्दैन । त्यस्तो अवस्थामा सिधै वहाँहरू कारबाहीको निम्ति योग्य हुनुहुनेछ । त्यसो भएकाले अहिले यस्तो निर्णय नगरौं । सरकार ढल्दैन भने कारबाहीको औचित्य के ?’

आजको बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘अविश्वास प्रस्ताव ल्याउने, विश्वासको मत फिर्ता लिने,फ्लोर क्रस गर्ने गतिविधि अघि बढाएर सरकारलाई घेराबन्दीमा हालिएको छ । यसमा परिस्थिति पनि छिटछिटो परिवर्तन भइरहेको छ । पटक पटक बैठक बोलाउन सम्भव नभएकाले तत्काल कुनै निर्णय गराउन परेमा आजैको महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति) को तर्फबाट भए गरेको मानिने छ ।’

बैठक आफूले सोचेअनुसारको निर्णयबाट पछि सरेपछि प्रधामन्त्रीले सरकारको उपलब्धीको बारेमा बोलेका थिए । उनले सरकारले असाधारण काम गरेको बताएका छन् । उनको भनाई थियो ‘मानव अंग प्रत्यारोपणको मेशिन जडान गरियो,साढे सात सय बेडको सैनिक अस्पतालको शिलान्यास गरियो, हिजोमात्र धरहरा उद्घाटन गरिएको छ । के यी असाधारण काम होइनन् ?’

अन्तमा, कोरोना महामारीबाट बच्न सदस्यहरूलाई ‘साबुन पानीले हात धुनोस्, नून पानीले कुल्ला गर्नुस् है !’ भनेर स्वास्थ्य टिप्स दिएका थिए ।