प्रदेशसभा पनि विघटन हुने सम्भावना
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने संकेत गरेकी छन् ।
सोमबार प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाम्फे प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् ।
पूर्व कानूनमन्त्रीसमेत रहेकी मन्त्री तुम्वाहाम्फेले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटन गरेको बताइन् । उनले प्रदेशसभा विघटनको अधिकार सम्बन्धित प्रदेशलार्य भएकोसमेत बताइन् ।
त्यस्तै उनले दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गरेको बताएकी छन् । उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे धेरै बोल्न नमिल्ने बताइन् ।
सरकारले निर्वाचनको तयारी तिव्रताका साथ गरिरहेकाले मन्त्री तुम्बाहाम्फेले निर्वाचन समयमै हुने दाबी पनि गरिन् । उनले निर्वाचन आयोगले आफ्ना काम गरिरहेको र निर्वाचनबारे सुरक्षाको तयारी साथै सरकारले आर्थिक व्यवस्थापन पनि गरिसकेकाले समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरकी हुन् ।