किर्तिमानी खेलाडी तुलसा खत्री काठमाडौँबाट हराइन्
काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो।
सबैलाई काठमाडौँको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये किर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्।
मन्दिर जान्छु भन्दै झिसमिसेमै निस्किएकी उनी जहाड चढेर कतार पो पुगिन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रोशन राउतले लेखेका छन्।
राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ। तर, मुखैमा आएको १३ औँ सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन।
सागमा नेपालले पदकको आशा गरेकी खेलाडी हुन्, तुलसा।
अघिल्लो महिना चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक गृष्मकालिन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय किर्तिमान तोडेकी थिइन्।
यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय थियो।
तुलसा विभागीय टोली त्रिभुवन आर्मी क्लवका तर्फबाट प्रतियोगितामा खेल्दै आएकी थिइन्।
उनले कतारका लागि बिहान ९ः३० बजे बोर्डिङ पास लिएको पाइएको छ।