बागमती प्रदेशकै राजधानीमा तुइनबाट लडेर वृद्धको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बागमती प्रदेशकै राजधानीमा तुइनबाट लडेर वृद्धको मृत्यु



काठमाडौं- सरकारले चालू आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रममा देशभर तुइन विस्थापित भएको घोषणा गरेको थियो ।

प्रधानमन्त्री केपी ओली स्वयंले पनि तुइन विस्थापित गरेर आफ्नो सरकारले ठूलो उपलब्धि हासिल गरेको पटक-पटक बताएका थिए । तर, मंगलबार साँझ बागमती प्रदेशको राजधानीका बासिन्दाले तुइनबाट लडेर ज्यान गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा हेटौँडाबाट सुदीप शिवाकोटीले लेखेका छन्।

तीन दिनदेखिको अविरल वर्षासँगै बाढी आएपछि हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले राप्ती खोला तर्न सकेनन् ।

खोलो तरेर पश्चिमको लालझाडी जान नसकेपछि उनी चौकीटोल र मैनटार जोड्ने तुइनको सहारा लिन पुगेका थिए । तर, तुइन चढ्न खोज्दा लडेर पराजुलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपानेका अनुसार पराजुली खोलापारि लालझाडीमा रहेको खेतबारीमा जान लागेका थिए । तुइन चढ्न खोज्दा चिप्लिएर करिब १५ फिट तल खसेका उनी ढुंगामा बजारिएर गम्भीर घाइते भएका थिए ।

सेनाको एम्बुलेन्समा राखेर उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइयो । तर, त्यहाँ उपचार हुन सकेन । त्यसपछि चुरेहिल अस्पताल लगियो । त्यहाँ पनि सम्भव नभएपछि भरतपुर लैजाने क्रममा पराजुलीको मृत्यु भएको वडाध्यक्ष न्यौपानेले बताए ।

चौकीटोलका बासिन्दाको खेत खोलापारि लालझाडीमा पनि छ । उनीहरू दैनिक घर–खेत गर्छन् । हिउँदमा पानी कम हुँदा खोला तरेर ओहोरदोहोर गर्ने स्थानीय वर्षात्मा भने तुइनकै भर पर्छन् ।

लालझाडीसँगै राप्तीपारि हेटौँडा उपमहानगरपालिका– १ कै मैनटार र नकौली गाउँ पनि छन् । वडाध्यक्ष न्यौपानेका अनुसार तीनवटै गाउँमा गरेर झन्डै आठ सय परिवार त्यहाँ बस्छन् । उनीहरू दैनिकजसो खोला वारिपारि गर्छन् ।

‘वर्षात्मा खोला तर्न सकिँदैन, तीन दशकदेखि यहाँका बासिन्दा तुइनकै भर परिरहेका छन्,’ वडाध्यक्ष न्यौपानेले भने । अझ विद्यालय आवतजावत गर्न बालबालिकाले पनि यही तुइन चढ्नुपर्छ ।