विशिष्ठ व्यक्ति माथि प्रधानमन्त्रीका सल्लाहकारको तुच्छ टिप्पणी
प्रधानमन्त्रीको सचिवालयले उपराष्ट्रपति, सभामुख र संबैधानिक निकायका पूर्वप्रमुखहरु प्रति तुच्छ टिप्पणी गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रदेश २ का प्रमुखको सपथ ग्रहण समारोहमा उपस्थित नभएपछि उपराष्ट्रपति र सभामुखले पदीय मर्यादा विपरित काम गरेको टिप्पणी गरेका छन् ।
राष्ट्रपतिले लिएको निर्णयमा उपराष्ट्रपतिले व्यक्तिगत कुण्ठा लिएको र बकबास गर्दै पत्रकार महासंघको महाधिवेशन उद्घाटन गर्न गएर प्रचण्डपथीय मन्तव्य दिएको थापाको आरोप छ । नबोल्ने सम्मानित पदमा बसेर यस ढंगले गैरजिम्मेवार बन्न किमार्थ नमिल्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको टिप्पणी छ । बहालवाला उपराष्ट्रपति र सभामुखको कर्तव्यच्यूत रवैया देखाउने, बहस गर्न वकिल पठाउने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने, टाँस्सिइरहने यो के रवैया हो ? भन्दै थापाले प्रश्न गरेका छन् ।
उनले प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारी बोधको अभाव र हैसियतको दुरूपयोगको समस्या देखिएको थापाको गम्भीर आरोप छ। यस्तै पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता व्यक्तिहरुले सार्वजनिक रुपमै बेइजती देखाएको र अधोपतन तर्फ लागेको उनको आरोप छ । बेला बेलामा यस्ता तुच्छ टिप्पणी गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले यो पटक सम्मानित पदमा रहेका व्यक्तिमाथि गम्भीर आरोप लगाएका हुन् ।
यसैबीच प्रधानमन्त्रीका विश्वास पात्र मानिने नेता गोकुल बाँस्कोटाले सरकारले आज केही नयाँ कुरा गर्ने संकेत गरेका छन् । ट्वीट गर्दै बाँस्कोटाले केही नयाँ कुराको संकेत गरेपनि विस्तृत खुलाएका छैनन् ।