ट्रम्पलाई लिङ्ग बनाएर स्वागत गरेपछि…
काठमाडौं – बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई लन्डनबाहिरको शहर बिशप्स स्टोर्टफोर्डका एक किशोरले अनौठो तरिकाले स्वागत गरेका छन् ।
उनले ‘ओइ ट्रम्प’ सन्देशका साथ लिंगको आकारलाई जमीनमा पोतेका छन् । ट्रम्पले विमानबाट यसलाई देख्ने आशा उनले गरेका छन् ।
बिशप्स स्टोर्टफोर्ड इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार, १८ वर्षीय विद्यार्थी ओल्ली नानकारोले स्टानस्टेड विमानस्थलको बाटो भएर आउँदा ट्रम्पले यो दृश्य देख्लान् भन्ने आशा उनले लिएका छन् ।
नानकारोले भने, ‘डोनल्ड ट्रम्प र उनको जलवायु परिवर्तन नीति स्वागतयोग्य छैनन् र ट्रम्प स्ट्यानस्टेड आउँदा त्यो कुरा थाहा पाऊन् भन्ने चाहन्छु ।’
नानकारो आफ्नो हाईस्कूलमा प्रोडक्ट डिजाइन र बिजनेस स्टडीज पढिरहेका छन् । उनी बोर्न–इको डट्कम चलाएर ग्राहकहरूलाई वातावरणमैत्री उत्पादन खोज्न सहायता गर्छन् ।
ट्रम्पले जलवायु परिवर्तनको अस्तित्व र असरका बारेमा शंका व्यक्त गर्ने गरेका छन् । सन् २०१८ को अन्त्यतिर ट्रम्पले वातावरणका सम्बन्धमा सरकारको प्रतिवेदनलाई बेवास्ता गरेका थिए । पत्रकारहरूलाई उनले जलवायु परिवर्तनको आर्थिक असरका चेतावनीलाई विश्वास नगर्ने बताएका थिए ।
यसअघि उनले जलवायु परिवर्तन चिनियाँहरूले जन्माएको हौवा भनेका थिए ।