ट्रम्पको बिदाइ सम्वोधन: हाम्रो आन्दोलन बल्ल सुरु हुनेवाला छ - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

ट्रम्पको बिदाइ सम्वोधन: हाम्रो आन्दोलन बल्ल सुरु हुनेवाला छ



एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइटहाउस छाड्नुअघि नयाँ प्रशासनलाई शुभकामना दिएका छन्। आफ्नाे बिदाइ भिडियो सन्देशमा उनले अमेरिकालाई सुरक्षित र समृद्ध राख्नका लागि सफलताको कामना दिएका छन्।

ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट विदा हुँदैछन् । अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडनले आजै सपथ ग्रहण गर्दैछन् । ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् ।

ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गरेका छन् । उनले भनेका छन्, ‘हामी सधैं संसारको निम्ति आशा र गौरवको भूमि हौं र हुनुपर्छ ।’ उनले आफू जे गर्न आएको थिएँ, त्यो गरेको पनि बताए ।

छोटो सम्बोधनका क्रममा उनले आफ्नो चार वर्षे कार्यकालका उपलब्धीबारे पनि संक्षिप्तमा चर्चा गरेका छन् । ट्रम्पले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता स्थापित गरेको दाबीसमेत गरे ।

‘यो साता हामीले नयाँ प्रशासनको सुरुवात गर्दैछौं। र अमेरिकालाई सुरक्षित र समृद्ध राख्नका लागि सफलताको कामना गर्दछौं। हामी शुभकामना दिन चाहन्छौं,’ उनले भनेका छन्।

उनले आफ्ना उपलब्धीहरु उल्लेख गर्दै अमेरिकी जनताका लागि कडा मिहिनेत गरेको बताएका छन्। कोरोना महामारीका समयमा अमेरिकी अर्थतन्त्र सुस्त गतिमा भए पनि आर्थिक प्रगति भएको उनले बताएका छन्।

ट्रम्पले जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसाको आलोचना गर्दै राजनीतिक हिंसा अमेरिकीहरुका लागि कहिल्यै पनि सह्य नहुने बताएका छन्।