कोरोना जति घातक बन्छ, चीनसँग मलाई त्यति रिस उठ्छ: डोनाल्ड ट्रम्प - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

कोरोना जति घातक बन्छ, चीनसँग मलाई त्यति रिस उठ्छ: डोनाल्ड ट्रम्प



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चीनसँग झनै रुष्ट बन्दै गएको बताएका छन्।

अमेरिकी सरकारका स्वास्थ्य सल्लाहकार तथा सरुवा रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरस नियन्त्रणको अवस्थामा नरहेको बताएपछि ट्रम्पले ट्वीटमा आफू चीनसँग झनै रिसाएको बताएका हुन्।

ट्रम्पले ट्वीटमा भनेका छन्,‘जब म कोरोना महामारी विश्वभर घातक रुपमा फैलिएको देख्छु साथै यसले अमेरिकामा ठूलो क्षति पुर्याएको देख्छु म चीनदेखि झन् झन् रुष्ट बन्छु।’

हाल अमेरिका विश्वमा सबैभन्दा बढी कोरोनाबाट प्रभावित बनेको राष्ट्र हो। गएको २४ घण्टामा मात्र अमेरिकामा ४७ हजारभन्दा बढी कोरोना संक्रमित थपिँदा सोही अवधिमा त्यहाँ ११ सयको मृत्यु भयो।

हालसम्म अमेरिकामा २७ लाखमा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये १ लाख ३० हजारको मृत्यु भइसकेको छ।

ट्रम्पले सुरुवातदेखि कोरोना भाइरस फैलनुमा चीन दोषी भएको आरोप लगाउँदै आएका छन्। उनले चीनले कोरोनाको खतराबारे ढिला जानकारी दिएको कारण अमेरिकामा पनि कोरोना घातक बनेको बताउने गरेका छन्।

अमेरिकाले कोरोना भाइरस चिनियाँ ल्याबमा बनेको हुनसक्ने पनि आशंका व्यक्त गरेको छ। ट्रम्पले यसअघि कोरोना भाइरसलाई चिनियाँ भाइरस समेत भनेका थिए।

चीनले भने कोरोनाबारे जानकारी आफूले सुरुवातमै दिएको तर अमेरिकाले भाइरसको खतरालाई नजरअन्दाज गरेको बताउँदै आएको छ।