ट्रम्पले खोले रहस्य: अमेरिकामा भन्दा अन्य देशमा कोरोना सङ्क्रमित बढी - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

ट्रम्पले खोले रहस्य: अमेरिकामा भन्दा अन्य देशमा कोरोना सङ्क्रमित बढी



एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश संसारकै धेरै कोभिड–१९ संक्रमित देखिएको देश नभएको स्पष्ट पारेका छन् । वास्तवमा अन्य देशको तुलनामा धेरैको परीक्षण गरिएकोले यस्तो आँकडा देखिएको उनले बताए ।

उनको यो बयानपछि ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सकी संयोजकले यसबारे विस्तृत जानकारी दिएकी छिन् ।

‘मलाई लाग्छ, पछिल्लो पाँच–६ हप्तादेखि यहाँ जे भइरहेको छ, त्यो स्पष्टसँग देख्न सकिन्छ,’ डाक्टर देबोराह ब्रिक्सले पत्रकारलाई भनिन् । ‘यसअघि जनवरी र फेब्रुअरीमा जब परीक्षण गरिएको थिएन, त्यतिबेला स्थिती निकै भिन्न र अज्ञात थियो ।’

यसअघि एक पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिकाले संसारभरीकै अन्य देशभन्दा लगातार परीक्षण गरिरह्यो । मलाई लाग्छ, त्यसैकारण हाम्रोमा धेरै संक्रमित देखिएका छन् ।’

उनले थपे, ‘मलाई त्यस्ता देशहरु थाहा छन् जहाँ हाम्रोमा भन्दा धेरै संक्रमित छन्, तर उनीहरुले यो तथ्य लुकाएका छन् ।’

प्रति व्यक्ति, इटली र दक्षिण कोरियाले अमेरिकाभन्दा बढी परीक्षण गरेका छन् । थुप्रै विशेषज्ञले अमेरिकामा सार्वजनिक गरिएभन्दा बढी संक्रमित भएको अनुमान गर्छन् किनभने यहाँ परीक्षण उपकरणको नै कमी छ ।

ब्रिक्स अमेरिकामा कोरोनाभाइरसका कारण निकै अघिदेखि नै मृत्यु हुन थालेको अनुमान गर्छिन् ।

उनले भनिन्, ‘कति देशले त अन्य स्वास्थ्य समस्या भएका व्यक्तिको यदि कोरोनाभाइरसका कारण मृत्यु भएको छ भने, उनीहरुले ती व्यक्तिको संक्रमणका कारण मृत्यु भएको मान्दैनन् ।’

‘उदाहरणका लागि यदि भाइरसको संक्रमणका कारण कोही व्यक्ति आइसीयूमा जानुपर्यो र मुटु, मृगौलालगायतका समस्या देखिए भने धेरै देशले उनको मृत्यु मुटु वा मृगौलाको रोगका कारण भएको बताउँछन् । कोरोनाभाइरसको उनीहरुले कुरै गर्दैनन् ।’

‘मैले भन्न खोजेको आशय बुझ्नुभयो होला,’ उनले भनिन्, ‘यदि कसैको संक्रमणका कारण मृत्यु भएको छ भने हामीले स्पष्ट रुपमा ती व्यक्तिको कोभिड–१९ ले ज्यान लिएको हो भन्ने गरेका छौं ।’

यद्यपि, उनले अमेरिकाका ग्रामीण क्षेत्रमा शहरका अन्य इलाकाजस्तै परीक्षण नभएको हुनसक्ने बताएकी छिन् ।