ट्रम्पबारे उनकै भतिजीले गरेको गम्भीर खुलासाले अमेरिकामा तरंग
एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका बारे अनेकौँ खुलासा भैरहेका बेला उनकै भतिजीले हालसम्मकै गम्भीर खुलासा गरेकी छन् ।
ट्रम्पकी भतिजी मेरी एल ट्रम्पले डोनल्ड ट्रम्प गम्भीर मानसिक रोगी भएको आरोप लगाउँदै र उनको घमण्ड तथा अज्ञानताले अमेरिकालाई समेत जोखिममा पारेको बताएकी छन् ।
मेरी ट्रम्पको पुस्तक ‘टू मच यान्ड नेभर इनफ : हाउ माई फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान’ मा ट्रम्पका पिताले खडा गरेको विषाक्त विरासतका कारण राष्ट्रपतिले अहिलेको बहुलट्ठीपन देखाएको आरोप लगाएको छ ।
मेरीका पिता फ्रेड्डी ट्रम्प अत्यधिक मदिरा सेवनका काण बितेका थिए । ट्रम्पले विगत तीन वर्षभन्दा बढी समय शासन चलाएपछि आफू शान्त बस्न नसकेको उनले लेखेकी छन् ।
मेरा हजुरबुवाको बाटो अपनाउँदै अनि उनका दाजुभाइ दिदीबहिनीले साथ दिएर मेरा बुवालाई बेकामे बनाए । म उनलाई यो देश नष्ट हुन दिन्नँ,’ मेरी ट्रम्पले पुस्तकमा लेखेकी छन् ।
मेरीको पुस्तकमा ट्रम्पको कर्तूतहरूको पोल खोलिएको छ । ट्रम्प परिवारले पुस्तक प्रकाशनमा रोक लगाउन मुद्दा लडेको भए पनि सफल भएन ।
मेरी ट्रम्प मनोविद् हुन् र उनले ट्रम्पको मनोविज्ञानको पनि खुलासा गरेकी छन् । पेन्सिल्भेनिया विश्वविद्यालयमा प्रवेश पाउनका लागि अर्को व्यक्तिलाई एसएटी परीक्षा दिन लगाएर पैसा तिरेको उनले दाबी गरेकी छन् ।
अनि ट्रम्पले आफ्नै भतिजीको स्तनलाई घुरेर हेर्ने गरेको र उनी यौनपिपासु भएको आरोप पनि मेरीले पुस्तकमा लगाएकी छन् ।
मेरीले गरेका अनेकौँ यस्ता खुलासाले अमेरिकामा तरंग फैलिएको छ । राजनीतिक वृत्तमा यसको गम्भीर हल्लाखल्ला मच्चिएको छ । आउंदैगरेको राष्ट्रपति चुनावलाई यो खुलासाले निकै ठुलो प्रभाव पार्ने देखिएको छ ।