ट्रम्पलाई उनकै पूर्व वकिलले लगाए गम्भीर आरोप: ‘रंगभेदी र लुटेरा’
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै पूर्व वकिलले रंगभेदी र लुटेरा (डाँकू) जस्तो व्यवहार भएको व्यक्तिका रुपमा चित्रित गरेका छन् ।
ट्रम्पका पूर्व वकिल माइकल कोहेनले आफ्नो नयाँ पुस्तकमा राष्ट्रपतिले ‘अश्वेत व्यक्तिप्रति तल्लो तहको विचार व्यक्त गर्ने’ र व्यवहार लुटेराको जस्तो रहेको उल्लेख गरेका हुन् ।
कोहेनले ‘डिसलोयलः अ मेमोअर’ नाम गरेको पुस्तक जेलमा रहेका बेला लेखेका हुन् । ट्रम्पको चुनावी अभियानको वित्तिय नियम उल्लंघनसहितका अपराधका लागि कोहेनले जेल सजाय पाएका हुन् ।
ट्रम्पले नेल्शन मण्डेला तथा हिस्पेसिन समुदायलाई लक्षित गरेर पनि रंगभेदी टिप्पणी गरेको दाबी कोहेनले पुस्तकमा गरेका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कोहेनले झुट कुरा उल्लेख गरेको बताएको छ ।
ह्याइट हाउसकी प्रवक्ता केली म्याकनेनीले भनेकी छन्, ‘कोहेन बेइमान अपराधी र डिस्बार वकिल हुन्, जसले संसदलाइ ढाँटेका थिए । उनले सम्पूर्ण विश्वसनीयता गुमाएका छन् र झुटबाट पुनः मुनाफा लिने उनको यो प्रयास अप्रत्यासित होइन ।’
पुस्तकमा कोहेनले आफूलाई जुन अपराधका कारण जेल सजाय भयो ट्रम्प पनि सोही अपराधका दोषी रहेको उल्लेख गरेका छन् । उनले आफ्ना पूर्व मालिकलाई ‘एक धोकेबाज, झुठ, फर्जी, ज्यादति गर्ने व्यक्ति, रंगभेदी, पीडक र झुटमा विश्वास गर्ने’ व्यक्तिका रुपमा चित्रित गरेका छन् । ट्रम्पको मानसिकता ‘लुटेरा समूहको नाइके’ जस्तो रहेको कोहेनले पुस्तकमा उल्लेख गरेका छन् ।
कोहेनको पुस्तक मंगलबार बाहिरिँदै छ । अमेरिकाका विभिन्न सञ्चारमाध्यमले पुस्तकमा उल्लेख कुरा समाचार बनाएका छन् ।
कोहेनले पुस्तकमा लेखेका छन्, ‘ट्रम्पले अश्वेत मानिसप्रति निकै तल्लो तहको विचार राख्छन् । उनीहरुको संगीतदेखि संस्कृति र राजनीतिमा समेत उनको विचार निकै तल्लो तहको छ ।’
ट्रम्पले दिवंगत दक्षिण अफ्रिकी राष्ट्रपति तथा रंगभेदी आन्दोलनका नेता नेल्सन मण्डेला ‘नेता नै नरहेको’ बताएको दाबी कोहेनले पुस्तकमा गरेका छन् ।
कोहेनका अनुसार ट्रम्पले एकपटक भनेका थिए, ‘अश्वेत व्यक्ति सत्ता सञ्चालन गरेको एक देशको नाम भने जुन सिटहोल छैन । ती सबै पूर्ण रुपमा ट्वाइलेट जस्तै छन् ।’
कोहेनले पुस्तकमा उल्लेख गरेका शब्द ट्रम्पले सन् २०१८ मा अफ्रिकी देशलाई इंगित गरेर प्रयोग गरेको शब्दसँग मेल खान्छ । ट्रम्पले त्यो बेला अफ्रिकी देशलाई ‘सिटहोल’ भनेका थिए ।