ट्रम्पका वकिलको कार्यालयमा छापा, महत्वपूर्ण कागजात जफत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वकिलको व्यक्तिगत कार्यालयमा संघीय जाँच आयोग (एफबिआई) ले गरेको छापाको आलोचना गरेका छन् ।
सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेको एफबिआईले सोमबार ट्रम्पका वकिल माइकल कोहेनको कार्यालयमा छापा मारेको थियो ।
एफबिआईको काम अपमान पूर्ण र देशमाथिकै आक्रमण रहेको भन्दै राष्ट्रपति ट्रम्पले आलोचना गरेका हुन् । ह्वाइट हाउस रिपोर्टससँग राष्ट्रपति ट्रम्पले एफबिआईको काम ‘विच हण्ट’ नरहेको बताए ।
ट्रम्पका लामो समयदेखिका वकिल तथा व्यवसायिक सहयोगी कोहेनको न्युर्योकमा रहेको कार्यालयमा सोमबार एफबिआईले छापा मारेर कोहेन र उनका क्लाइन्ट बिच भएको विशेष कुराकानी जफत गरेको थियो ।
यस्तै ट्रम्पको यौन सम्बन्ध रहेको भनिएकी वयश्क चलचित्रकी अभिनेत्री स्ट्रोमी ड्यानियल्सलाई यसबारेमा चुप रहनका लागि रकम प्रदान गर्न भएको प्रक्रियाको कागजात पनि जफत भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट म्युलरको निर्देशनमा एफबिआईले कोहेनको कार्यालयमा छापा मारेको हो ।
ट्रम्पले भइरहेको अनुसन्धानको आलोचना गर्दै म्युलरको टिम अहिलेसम्मकै पक्षपाती व्यक्तिहरुको समूह रहेको आरोप लगाएका छन् ।
ट्रम्पका वकिल कोहेनले सन् २०१६ को चुनावको केही दिनअघि मात्रै वयश्क चलचित्रकी अभिनेत्री ड्यानियल्सलाई ट्रम्पसँगको आफ्नो सम्बन्धका बारेमा चुप रहनका लागि १ लाख ३० हजार अमेरिकी डलर दिएको बताएका थिए ।
त्यसपछि उनी छानबिनको दायरामा आएका हुन् । वास्तविक नाम स्टेफानी क्लिफोर्ड रहेकी स्ट्रोमी र ट्रम्पबिच सन् २००६ मा यौन सम्बन्ध कायम भएको थियो ।
ट्रम्पकी श्रीमती मेलानियाले छोरा ब्यारेन जन्माएको केही समयपछि नै आफू र ट्रम्पबिच यौन सम्बन्ध कायम भएको स्ट्रोमीले बताउने गरेकी छन् ।