ट्रम्पले भने : भारतको निर्णय स्वीकार्य छैन, फिर्ता गर - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ट्रम्पले भने : भारतको निर्णय स्वीकार्य छैन, फिर्ता गर



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले केही अमेरिकी सामग्रीमा बढाएको कर अस्वीकार्य भएको जनाउँदै सो कर फिर्ता लिनुपर्ने जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले भारत भ्रमण गरेको भोलिपल्ट केही बेरअघि ट्विट गर्दै उनले सो कुरा बताएका हुन् ।

अमेरिका विरुद्ध भारतले केही वर्षदेखि उच्च कर लगाउँदै आएको र हालै कर बढाइएको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न आफू प्रतिक्षारत रहेको समेत जनाएका छन् । विदेशमन्त्री पम्पेओले भारत भ्रमणका क्रममा बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेका थिए ।

सो अवसरमा इरान मामिला, भारत र अमेरिकाको व्यापार तथा रक्षा मामिला एवं अन्य क्षेत्रीय विषयहरुमा पनि कुरा भएको थियो । दुवै देशका विदेशमन्त्रीले भेटघाटपछिको पत्रकार सम्मेलनमा इण्डो प्यासिफिक रणनीतिलाई कसैको विरुद्धमा भन्दा पनि यो क्षेत्रको विकासको लागि प्रयोग गरिने जनाएका थिए ।

ट्रम्प र मोदीबीच जी—२०को भोलिदेखि जापानमा हुने शिखर बैठकमा भेटघाट हुने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपतिको पछिल्लो ट्विटले भारत र अमेरिकाबीच अमेरिकी विदेशमन्त्रीको भारत भ्रमणका क्रममा व्यापारिक मामिलामा ठोस सहमति हुन नसकेको संकेत गरेको छ ।

अमेरिकाले केही अघि भारतलाई लामो समयदेखि दिँदै आएको ड्युटी फ्रि सुविधा रोकेपछि भारतले जवाफमा विभिन्न २८ वटा अमेरिकी सामानमा करको दर बढाएको थियो ।