चुनाव हारे के गर्छन डोनल्ड ट्रम्प ? गरे यस्तो घोषणा - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

चुनाव हारे के गर्छन डोनल्ड ट्रम्प ? गरे यस्तो घोषणा



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने निर्वाचनमा यदी आफूले हारेमा अन्य पेशामा लाग्ने बताएका छन् ।

विपक्षी डेमोेक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार जोए बाइडेन र ट्रम्पबीच आगामी नोभेम्बरमा राष्ट्रपतिका लागि मुख्य प्रतिष्पर्धा हुँदैछ । बाइडेनले रिपब्लिकन पार्टीले धोका दिनसक्ने र ह्वाइट हाउस छाड्न अस्वीकार गर्नसक्ने प्रतिक्रिया दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

‘यदी मैले जितिन भने, जितिन । मेरो मतलब, तपाईँलाई थाहा छ नी, जान्छु र अर्कै काम गर्छु,’ ट्रम्पले भनेका छन् । तर उनले अर्कै काम भनेको के हो त्यसबारे खुलाएका छैनन् । ट्रम्प राजनीतिमा आउनुअघि व्यवसायमा व्यस्त थिए । राजनीतिज्ञसँगै उनी एक सफल व्यवसायी पनि हुन् ।

शुक्रबार फक्स न्युजसँग ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । चुनावअघि कोरोना भाइरस महामारीका बावजुद ट्रम्प र बाइडेन चुनावी प्रतिष्पर्धाका लागि जुटिरहेका छन् । तर यसअघि भएका नमूना मतदानमा बाइडेनले नै ट्रम्पलाई जितेका छन् । त्यसो त, पछिल्लो समय आलोचित र विवादित भइरहेका ट्रम्पका अगाडि बाइडेन बलियो उम्मेदवार बन्ने अपेक्षा गरिएको छ ।

ट्रम्पका चुनावी अभियानका प्रवक्ता टीम मुर्तागले बिहीबार भने अनुसार ट्रम्प चुनावी नतिजा स्वीकार गर्न तयार हुनेछन् । बाइडेनले भने उनी चुनावी नतिजा स्वीकार गर्न तयार नहुने टिप्पणी गरेका थिए ।

ट्रम्पले यदी २०२० को चुनाव जितेको खण्डमा उनी दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्नेछन् । तर पछिल्लो समय उनी अमेरिकी जनतामाझ विवादित बन्दैआएका छन् । बाइडेन भने उपराष्ट्रपति बनिसकेका डेमोक्रेट्स नेता हुन् ।