निको नहुँदै डोनाल्ड ट्रम्प निवास फर्किए, चुनावी अभियान गर्ने - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

निको नहुँदै डोनाल्ड ट्रम्प निवास फर्किए, चुनावी अभियान गर्ने



एजेन्सी- कोरोना भाइरसको संक्रमण पुष्टि भएर तीन दिन अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संक्रमणमुक्त नहुँदै निवासमै फर्किएका छन् ।

उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने अमेरिकी सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट बिदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार पनि सुरु गर्ने बताएका थिए ।

ट्रम्पको उपचारमा संलग्‍न चिकित्सकका अनुसार उनी पूर्ण रुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको ह्वाइट हाउसका चिकित्सक डा. सिन कोनले बताएका बीबीसीले जनाएको छ । भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना नरहेको पनि उनले बताए ।

डिस्चार्ज हुनुअघि ट्‍वीट गर्दै ट्रम्पले भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केवल गलत मत सर्वेक्षण देखाउँछ ।’

अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनुअघि गरिएका मत सर्भेक्षणमा ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडेन लोकप्रिय रहेको देखाइएको छ, जसलाई ट्रम्पले गलत बताउँदै आइरहेका छन् ।