समर्थक भेट्न ट्रम्प एकाएक अस्पतालबाट भिडमा गएपछि - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

समर्थक भेट्न ट्रम्प एकाएक अस्पतालबाट भिडमा गएपछि



काठमाडौं- कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । उनको यो कार्य विवादित बनेको छ ।

संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् । गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए ।

गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नरहेको भनी उनको गतिविधिको आलोचना भएको छ ।

ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ । तर स्वीकृति दिने डाक्टर को हुन् भन्ने बारे नखुलाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसलाई गम्भीर रुपमा नलिएको तथा अधिकांश समय छल मात्रै भन्ने गरेका ट्रम्पले भाइरसबारे आफूले धेरै जानकारी पाएको बताएका छन् । उनले भिडियो सन्देशमा आफूले भाइरसबारे धेरै थाहा पाएको बताएका हुन् ।

ट्रम्पका डाक्टरले यसअघि ट्रम्पको स्वास्थ्य सुधारको क्रममा रहेको र सम्भवतः सोमबार डिस्चार्ज हुन सक्ने बताएका थिए ।

ट्रम्पलाई कम्तीमा एकपटक अक्सिजनको सपोर्ट दिइएको छ । डा. शन कोन्लीले अक्सिजन लेभल दुईपटक कम भएको बताएका छन् ।

उनलाई स्टेरोइड पनि दिन थालिएको उनले बताए । स्टेरोइड कोरोना भाइरसबाट संक्रमित भइ गम्भीर स्वास्थ्य अवस्था भएका बिरामीलाई दिइन्छ ।