अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण भएको शंका - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण भएको शंका



काठमाडौं- अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण भएको आशंका गरिएको छ। अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति दुवैका नजिकका मान्छेमा कोरोना संक्रमण देखिएपछि उनीहरूमा पनि सङ्क्रमण भएको हुनसक्ने बताइएको छ ।

राष्ट्रपति डोनाल्ट ट्रम्पका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि शुक्रबार उपराष्ट्रपति माइक पेन्सीकी प्रेस सेक्रेटरी पनि संक्रमित देखिएकी हुन्।

योसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्स दुवैलाई उच्च निगरानीमा राखेर कोरोना रहे/नरहेको निर्क्याेल गर्न दैनिक परीक्षण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

राष्ट्रपतिलाई सुरक्षित राख्न हरेक उपाय अपनाइएको ह्वाइट हाउसले जनाएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन्। ह्वाइट हाउसमा रिपब्लिकन नेतासँगको भेटमा राष्ट्रपति ट्रम्पले भने, ‘लामो समयसम्मको परीक्षणमा उन (केटी) संक्रमण देखिएको थिएन। तर शुक्रबार अचनाक उनी संक्रमित रहेको पुष्टि भयो।’

अहिले विश्वमा कोरोना भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका नै परेको छ। त्यहाँ अहिलेसम्म कोरोनाबाट ७७ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ लाख ८३ हजार भन्दा बढी संक्रमित भइसकेका छन्।