पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि डोनाल्ड ट्रम्पकै लाइनमा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि डोनाल्ड ट्रम्पकै लाइनमा



एजेन्सी- गत शनिबारको राति १२ बजेसम्म पाकिस्तानमा कोरोना भाइरसको २८२० मामिला पुष्टि भएका थिए । हालसम्म ४१ जनाको त्यहाँ मृत्यु भईसकेको छ ।

तर, पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने कोरोना संक्रमण प्रसारलाई रोक्न लकडाउन लागू गर्ने पक्षमा देखिदैँनन् ।

पाकिस्तानी पत्रिका जंगको खबर अनुसार शुक्रबार प्रधानमन्त्री इमरान खानले पत्रकारहरुसँग कुराकानी गर्दै २२ करोड जनतालाई लकडाउन गरी बन्द गरेर राख्न नसकिने बताएका हुन् ।

प्रधानमन्त्री खानले भने, ‘कसैले पनि पाकिस्तान कोरोनाको खतरामा छैन भनेर नबुझ्नुहोस्, तर हामी २२ करोड जनतालाई बन्दी बनाएर राख्न सक्दैनौं । यो असम्भव कुरा हो । पाकिस्तानमा एकतर्फ कोरोना र अर्को तर्फ भोक छ । मानिसहरु भोकले मर्ने डर छ । जुन स्थानहरुमा भीड हुने सम्भावना देखिन्छ त्यस्ता ठाउँहरुमा मात्र लकडाउन गरिनेछ ।’

प्रधानमन्त्री खानले सबैजनालाई सावधानी अपनाउन भनेका छन् । उनले १४ अप्रिलमा के कस्तो कदम अपनाउने बारे पुनः विचार विमर्श गरिने बताए ।

शुक्रबार जुमेको नमाजमा पनि मानिसहरु आफ्नो घरमा बसेका थिए र मस्जिदमा भीड देखिएको थिएन ।

एक्सप्रेस पत्रिकाको अनुसार सरकारले मस्जिदमा नमाज पढ्न पनि रोक लगाएको छ । पाकिस्तान सरकारले कुनै पनि मस्जिदमा तीनदेखि पाँचजनाभन्दा धेरै मानिसहरुलाई जान रोक लगाएको छ ।

तर कराँचीको एक मस्जिदमा जुमेको नमाजको समय धेरै मानिसहरु उपस्थित भएको कारण प्रहरीसँग झडप भएको थियो । उक्त घटनामा धेरैजना घाइते भएका थिए ।

प्रहरीले मस्जिद समितिका चारजनालाई गिरफ्तार गरेको थियो । साथै धेरैजनाको विरुद्ध मुद्दा पनि दर्ता गरिएको थियो ।