गुडिरहेको ट्रकमा आगलागी, करोडको क्षति - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुडिरहेको ट्रकमा आगलागी, करोडको क्षति



सीताराम चौधरी, कपिलवस्तु ।

पश्चिम डडेलधुरामा एनसेलको टावर बनाएर फर्किएको ना ६ ख ५८१२ नम्बरको ट्रक चन्द्रौटा राजस्व चेकप्वाइन्टमा रोकिंदा एक्कासी धुँवाको मुस्लो देखियो । ट्रकमा आगो लागेको ट्रक चालक, सहचालकलाई पनि थाहा थिएन । राजश्व कर्मचारीले ट्रकको पछाडिबाट धुँवा निस्केको देखेर जानकारी गराएपछि सहचालक दौडेर गई पछाडिको ढाला खोले र बेट्री झार्न थाले । तर आगो अनियन्त्रित हुँदै गयो । हेर्दा हेर्दै एकैछिनमा ट्रकमाथि छाएको पर्दामा आगोले टिप्यो । नजिकैको घरबाट मोटरपाइप जोडेर आगो निभाउन थाले तर आगो अनियन्त्रित भइसकेकाले निभाउन मुस्किल प¥यो ।

वरिपरिबाट दर्शकको घुइँचो लाग्यो तर निभाउनेपट्टि कसैको ध्यान गएन । जब आगो अनियन्त्रित भयो त्यसपछि बाल्टीमा पानी भरेर आगो निभाउने काममा स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र जनपथ प्रहरी जुटे । सोही समयमा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी पनि आइपुगे । उनी पनि आफैं बाल्टी बोकेर आगो निभाउन कस्सिए । उनीसँगै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्याय पनि ज्यानको बाजी थापेर आगो निमाउने कार्यमा जुटेका थिए ।

तर स्थानीय तहमा दमकल नहुँदा समयमै आगो निभाउन नसकेको स्थानीयको आरोप छ । ट्रकमा लोड गरिएका सामान हेर्दा हेर्दै सबै जलेर नष्ट भयो । दमकल बाहिरबाट बोलाउँदा समयमा आइ पुगेन । त्यहाँ जम्मा भएका दर्शकले स्थानीय निकायलाई दोेष लगाउँदै अन्य चिजमा खर्च गर्ने स्थानीय तहले एउटा दमकल पनि किन्न नसक्ने भनी आक्रोस पोखे ।

साँझ सवा ४ बजे लागेको आगो पौने घण्टापछि नियन्त्रणमा आएको थियो । बाल्टीको पानी र फायर सर्ट मेसिनको सहायताले आगोलाई नियन्त्रणमा लिइएको थियो । आगो लागेको पौने घण्टापछि दमकल आइपुग्यो र बचेकुचेको आगो पूर्ण रुपमा निभायो । मुख्य सडकखण्डमै आगो लागेपछि करीब एक घण्टासम्म बाटो अबरुद्ध बन्यो ।


डडेलधुरामा एनसेलको टावर खडा गरी पुरानो तथा नयाँ ब्याट्री र सोसम्बन्धी अन्य सामग्री ट्रकमा लोड गरिएको थियो । ट्रक पश्चिम डडेलधुरामा टावरको काम सकेर काठमाडौं फकिँदै थियो । ट्रकमा राखिएको व्याट्री एक्कासी सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको भनाई छ । आगलागीबाट करोड बढीको क्षति पुगेको अनुमान गरिएको छ । ट्रकमा लोड गरिएका सामान पूर्ण क्षति भएपनि ट्रकमा खासै क्षति भएको छैन, प्रहरीको भनाई छ । साथै आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपाल समाचारपत्रबाट