त्रिचन्द्र कलेज अगाडी प्रहरी र विद्यार्थीबीच झडप, ६ जना घाइते
काठमाडौँ । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ ।
झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको उपाध्यक्ष महेश बर्तौला, शेखर बोहोरालगायत ६ जना रहेको सचिव आरसी लामिछानेले रातोपाटीलाई जानकारी दिए ।
निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको, प्रधानमन्त्री शेरबहादुर देउवाको अक्रमण्यता तथा मूल्यबृद्धिविरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको लामिछानेले जानकारी दिए ।
‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेको बेला प्रहरीले एक्कासी बल प्रयोग गर्यो,’ लामिछानेले भने, ‘प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको छ ।’
यता, प्रहरीले भने प्रधानमन्त्री र निर्वाचन आयुक्तको पुत्ला जलाउन खोजेपछि हस्तक्षेप गरेको बताएको छ ।
अहिले पनि त्रिचन्द्र कलेज र रत्नपार्क क्षेत्र तनावग्रस्त रहेको छ ।
फाइल तस्बिर