ट्रेन्ट बोल्टको यस्तो किर्तिमान : जो कुनै किविज खेलाडीले गरेनन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ट्रेन्ट बोल्टको यस्तो किर्तिमान : जो कुनै किविज खेलाडीले गरेनन



काठमाडौं- न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टले अष्ट्रेलियामाथि ह्याट्रिक गरेका छन्। योसँगै उनी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो किविज (न्युजिल्यान्डका बासिन्दा) बलर बनेका छन्।

आसन्न विश्वकपमा ह्याट्रिक विकेट लिने उनी दोस्रो खेलाडी हुन्। यसअघि भारतका मोहम्मद सामीले लगातार ३ विकेट लिएका थिए।

अंकतालिकाको शीर्ष स्थानमा रहेको अष्ट्रेलियामाथि कसिलो बलिङ गर्ने क्रममा बोल्ट एक्लैले ह्याट्रिकसहित ४ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाविरुद्धको अन्तिम ओभरमा उनले यो सफलता हात पारेका हुन्। टिमको स्कोर २ सय ४३ रन भएको अवस्थामा खेलमा सेट भइसकेका ब्याट्सम्यान उस्मान खवाजालाई उनले सिकार बनाएका थिए। अन्तिम ओभरको तेस्रो बलमा आउट हुनुअघि खवाजाले टोलीका लागि सर्वाधिक ८८ रनको पारी खेलेका थिए।

सोपश्चात् मैदान उत्रिएका मिचेल स्टार्क पनि बोल्टको बलमा खवाजाकै शैलीमा बोल्ड हुँदै पेवेलियन फर्किए। त्यसपछि ‘गोल्डन डक आउट’को सिकार हुने पालो थियो जसोन बेह्रेनडोर्फको। जसोन पनि पहिलो बलमै एलबिडब्लु धरापमा परेपछि बोल्टलाई ह्याट्रिकको सफलता मिलेको हो।

बोल्टले ४ विकेट लिने क्रममा १० ओभरमा एक मेडन राख्दै ५१ रन खर्चिएका थिए। यसअघि खेलको पहिलो विकेटको रुपमा एरोन फिन्च ८ रन बनाएर आउँट हुँदा बोल्टको नाममा विकेट लेखिएको थियो।

न्युजिल्यान्डका ब्याट्सम्यान चल्न नसक्दा खेल भने अष्ट्रेलियाले ८६ रनले जितको छ।

विश्वकपमा ह्याट्रिक गर्ने ११औं खेलाडी

विश्वकप इतिहासमा भने ह्याट्रिक विकेट लिने उनी ११औं खेलाडी हुन्। यसअघि १० जना बलरहरुले यो सफलता हासिल गरेका छन्।

सन् १९८७ मा भारतका चेतन शर्माले इतिहासमै पहिलोपटक विश्वकपमा पहिलो ह्याट्रिक गरेका थिए।

सन् १९९९ मा पाकिस्तानका सकलेन मुस्ताक, २००३ मा श्रीलंकाका चामिन्दा भास, सोही वर्ष अष्ट्रेलियाका ब्रेट लीले ह्याट्रिक विकेट लिएका थिए।

सन् २००७ को विश्वकपमा श्रीलंकाका लासिथ मलिंगाले लगातार ४ बलमा ४ विकेट आफ्नो नाममा गरेका थिए। विश्वकपमा यो सफलता हासिल गर्ने उनी एक मात्र बलर हुन्। उनले सन् २०११ को विश्वकपमा समेत ३ ब्याट्सम्यानलाई लगातार पेवेलियनको बाटो देखाएका थिए।

भारत, बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको यो विश्वकपमा वेस्टविन्डिजका केमर रोचले समेत ह्याट्रिक गरेका थिए।

सन् २०१५ भएको विश्वकपमा समेत २ वटा ह्याट्रिक बनेका थिए। इंग्ल्यान्डका स्टेभिन फिन र दक्षिण अफ्रिकाका जेपी डुमिनी लगातार ३ विकेट लिन सफल भएका थिए।