थापाले बनाए टाक्सफोर्सको योजना - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

थापाले बनाए टाक्सफोर्सको योजना



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आफ्नो मातहतमा रहने गरी उच्च स्तरीय ‘टाक्सफोर्स’ गठनको तयारी थालेका छन् । समान्तर अनुसन्धान निकाय बनाएको भनेर यसले प्रहरी संगठनभित्र असन्तुष्टि पैदा गर्न सक्ने आंशका पनि छ ।

गृहमन्त्री थापाको योजना अनुसार ‘टाक्सफोर्स’ ले राजनीतिक दबाबबाट मुक्त भएर काम गर्ने छ । सूत्रका अनुसार खास–खास मुद्दामा प्रहरी संगठनको अनुसन्धान राजनीति दवावमा आउने देखिएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय महत्वका संवेदनशिल विषयमा छानविन गर्न सक्ने गरी यस्तो ‘टाक्सफोर्स’ को योजना बनाएका हुन् । यो ‘टाक्सफोर्स’ अस्थायी प्रकृतिको हुने र यसले खास–खास मुद्दामा काम गर्ने जानकारी स्रोतले दिएको छ ।

यो अभ्यास सफल भएमा घटनाको अनुसन्धान र कारवाही गर्ने काम प्रत्यक्ष गृहमन्त्रीको मातहतमा रहने यो ‘टाक्र्सफोर्स’ ले गर्ने बताइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार राजनीतिक दबाबबाट मुक्त रहनेगरी विशेष अनुसन्धान र अप्रेसन (कारबाही) सञ्चालन गर्न उच्च स्तरीय ‘टाक्सफोर्स’ को तयारी गरिएको हो ।

३३ किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म राजनीति व्यक्ति प्रक्राउ परेका छैनन् । यसलाई शंकाको दृष्टिले हेरिएको छ । हाल सभामुख रहेका तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करहरुलाई ‘भूरा माछा’ भनेपछि यस्तो तस्करीमा राजनीति नेतृत्व पनि जोडिएको आंशका गरिएको थियो ।

वित्तीय अनियमिता, तस्करी, धोकाधाडी, आपराधिकलगायतका प्रकृतिका मुद्दामा काम गर्ने छ । ‘टाक्सफोर्स’ गठन भयो भने उसलाई राजनीतिक दबाबबाट बचाउने तयारी हुनेछ । ‘सम्भवत डीआईजीको नेतृत्वमा हुने यस कार्यदल (टाक्सफोर्स) छिट्टै गठन गरिनेछ । यसका लागि हामी आधारभूत कार्यहरू गरिरहेका छौं । यसले विशेष अनुसन्धान र कारबाहीहरू सञ्चालन गर्नेछ’, गृह मन्त्रालयको स्रोतले भन्यो ।

यसका लागि गृहमन्त्रीले मन्त्रीपरिष्दा्बाट निर्णय गराउन सक्छन् वा प्रधानमन्त्रीको परामर्शमा यो ‘टाक्सफोर्स’ गठन गर्न सक्छन् । आबश्यकता अनुसार फोर्स ल्याउने र फिर्ता बठाउने काम हुनेछ ।
‘एउटा निर्दिष्ट काम सम्पन्न भएपछि सदस्यहरू आ–आफ्ना स्टेसनमा फर्कनेछन् । यदि अन्य काम आइपरेमा टाक्सफोर्स पुनरगठन गरिनेछ,’ गृहका एक अधिकारीले भने, ‘गृहमन्त्री चीन भ्रमणमा गएकाले केही ढिला हुन गएको हो । उहाँ फर्किसक्नु भएको छ । अब यस विषयमा छलफल अघि बढ्छ ।’

कार्यदलले ठूला आपराधिक घटना घटाउने माथि कानुनी कारबाही गर्नेछ र आफूले अनुसन्धान सकेपछि ती मुद्दामाथि अदालती कारबाही अघि बढाउनेछ । स्रोतका अनुसार विगतमा प्रहरीहरु राजनीतिक दबाबमा परेर अपराधीलाई मुक्त गर्नुपर्ने तीतो अनुभवकबाट सिकेर यो कार्यदल परिकल्पना गरिएको हो ।

स्रोतका अनुसार गृहमन्त्री थापा प्रहरीले सुन तस्करी र काम नगर्ने ठेकेदार, कुख्यात अपराधीमाथि शिघ्र कारबाही गर्न नसकेको अवस्थाबाट असन्तुष्ट छन् । प्रधानमन्त्रीले गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग आफू मातहतमा रहने निर्णय गरेसँगै गृहले उच्च स्तरीय ‘टाक्सफोर्स’ गठनको तयारी थालेको गृहमन्त्रालयको उच्च स्रोतले बतायो ।