टोपबहादुरको नजरमा प्रचण्ड-नेपालसँग बाँकी रहेका तीन विकल्प - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

टोपबहादुरको नजरमा प्रचण्ड-नेपालसँग बाँकी रहेका तीन विकल्प



काठमाडौं- नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल समुहको दिनगन्ती सुरू भएको बताएका छन् । उनले आगामी वैशाखमा निर्वाचन हुने दाबी गर्दै सबै हिसाबले प्रचण्ड-नेपाल समूह संकटमा रहेको समेत बताए ।

ओली समूहले बुटवलमा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्ड-नेपाल समूह अहिले पश्चातापले जलेको समेत बताए । उनले अरू सबै कुरा सकिएर उनीहरूले ओली समुहका केहि मन्त्रीहरू आफूसँग आउने भन्दै गलत प्रचार गरेको समेत बताए ।

कार्यक्रममा रायमाझीले निर्वाचन आयोगले पनि प्रचण्ड-नेपाल समुहलाई आधिकारिकता नदिने र संसद पुनःस्थापना पनि नहुने ठोकुवा गर्दै चुनावको लागि सबै जुट्न आग्रह गरे । उनले निर्वाचन आयोगले प्रधानमन्त्री केपी ओली प्रथम अध्यक्ष भएकाले उनको मात्रै हस्ताक्षर चल्ने भन्दै उनीहरूलाई जवाफ दिएको समेत दाबी गरे ।

रायमाझीले प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै पद र प्रतिष्ठाका लागि ‘केही साथी’ सडकमा गएको उल्लेख गरे । विकास र समृद्धिको एजेन्डा छाडेर सडकमा गएकाहरुसँग केही एजेन्डा नभएको उनको भनाइ थियो । रायमाझीले मांसहारी आन्दोलन जस्ता उट्पट्याङको पछि नलाग्न आग्रह गरे ।

‘तपाईहरु पदको लडाँमा हुनुहुन्छ। चुनावमा जाऔँ आउनुहोस्। त्यहीँबाट तपाईहरूलाई केके पद चाहिन्छ हुनुहोस्’ उनले भने, ‘तर उहाँहरूलाई जनताप्रति विश्वास छैन। त्यसैले निर्वाचनबाट डराइराख्नुभएको छ।’

रायमाझीले नेकपा प्रचण्ड–माधव समूहलाई तीन विकल्पसमेत दिएका छन् । केपी ओलीको हस्ताक्षर लिएर सूर्य चिह्नमा निर्वाचनमा भाग लिने, पार्टीबाट चोइटिएर बाहिर जाने वा बहिष्कार गरेर मोहन वैद्यसँग जानुपर्ने विकल्प रहेको रायमाझीले बताए ।