टोपबहादुरले भने: प्रचण्डले चलाएको पार्टी खुद्रा पसल हो, चुनावमा सकिन्छ - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

टोपबहादुरले भने: प्रचण्डले चलाएको पार्टी खुद्रा पसल हो, चुनावमा सकिन्छ



अर्घाखाँची- नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डले चलाएको पार्टी खुद्रा पार्टी भएको बताएका छन् । प्रचण्डले चलाएको पार्टी खुद्रा पसल भएको बताउँदै उनले अबको चुनावमा पत्तासाफ हुने समेत बताएका छन् ।

रायमाझीले अब मुलुकको राजनीतिक नेतृत्वमा कांग्रेस र एमालेमात्रै अस्तित्वमा रहने भन्दै सानातिना पार्टीहरूको सथित्व सकिने बताए । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टी खुद्रा पसल भएकाले तिनीहरु धेरै दिन टिक्न नसक्ने उनको भनाइ थियो ।

‘कम्युनिष्ट पार्टीको मूल नेतृत्व केपी शर्मा ओली नेतृत्वको एमाले नै हो,’ भूमिकास्थान नगरपालिकाको धारापानीमा शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले भने, ‘कम्युनिष्टको नेतृत्व एमाले र लोकतान्त्रिक पार्टीको नेतृत्व कांग्रेसमात्रै हुन्छ, अब अरु खुद्रा पसले पार्टीको काम छैन ।’

उनले आफू केपी ओलीको सहयोगी भएको बताए । दाहाल अहिले राजनीतिक बिचलनमा भएको उनको टिप्पणी छ । उनले एमालेविरुद्ध भएको ५ दलीय गठबन्धनले समयमै चुनावको मिति घोषणा नगरेर संविधानविपरीत जान खोजेको बताए । ‘गठबन्धन सत्ताधारीहरुले हार स्वीकार गरिसके, चुनाव गर्न एमालेसँग डराएर अनेक बाहना बनाएर स्थानीय तहको निर्वाचनलाई पर धकेल्न खोजेका छन्,’ रायमाझीले भने, ‘अब एमालेले नै देश रुपान्तरण गर्छ, देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ ।’ उनले आउने सबै चुनावमा एमालेले जित्ने र गाउँको विकास निर्माणका कामलाई अगाडि बढाइने बताए ।

धारापानीमा राष्ट्रिय जनमोर्चाका युवा नेता माधव बञ्जाडेको नेतृत्वमा माओवादी केन्द्रसहित ५२ जना स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ ।