प्रचण्ड र माओवादी केन्द्र सकाउने अभियानमा टोपबहादुर
काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी केन्द्र सकिनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड स्वघोषित नेता भएकाले र माओवादी केन्द्र अवैधानिक भएकाले दुवै सकिनुपर्ने बताएका थिए ।
टोपबहादुरले प्रचण्डमाथि आक्रोश पोख्दै आफूले बनाएको संविधान, कानून र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भएको आरोप लगाएका छन् । पछिल्लो समय माओवादीमा फर्कन खोज्दा प्रचण्डले वास्ता नगरेको र त्यसपछि टोपबहादुर प्रचण्डसंग रुष्ट बन्दै गएको आरोप लागिरहेका बेला उनले प्रचण्ड र पार्टी दुवै सकिनुपर्ने बताएका छन् ।
उनले माओवादी केन्द्रले एमालेसँग गएको चुनावमा तालमेल नगरेको भए अवस्था अत्यन्तै नाजुक हुन्थ्यो भन्ने पनि टिप्पणी गरे। उनले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति कडा आक्रोश पोखे। उनले भने, ‘३३ वर्षसम्म माओवादी पार्टीको महाधिवेशन भएको छैन्। आधिकारिक रुपमा प्रतिष्पर्धात्मक महाधिवेशन नभएको तितो इतिहास हामीसँग छ। स्वघोषित नेता भएर प्रचण्डले इतिहास बनाएका छन्। कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो। माओवादी केन्द्र भन्ने पार्टी अवैधानिक छ। यसलाई खारेज गर्नुपर्छ। माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बनधी ऐन केही पनि मानेको छैन्।’
टोपबहादुरले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न समेत गरेका छन्। उनले नेताहरुको स्वार्थ, बनावटी र व्यक्तिगत लफडाको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको दाबी समेत गरे।
उनले भने, ‘एमाले र माओवादी तालमेल गर्दा नेकपाले झण्डै दुईतिहाई नजिक मत पायो। पार्टी एकता पनि गरियो । नेकपा बनायौं। नेताहरुको स्वार्थको कारणले बनावटी र व्यक्तिगत लफडा गरेर पार्टी विभाजनतिर गयो। हामी अन्तिसम्म पनि एकताको पक्षमा उभियौं। पार्टी फुटन नदिनको लागि अधिकतम प्रयास गर्यौं। तर, नेताहरुको व्यक्तिगत स्वार्थको कारणले नेकपा फुट्यो। हामीलाई अहिले गैरक्रान्तिकारी भनिएको छ। प्रचण्डले ओलीसँग एकता गर्दा क्रान्तिकारी हुने, अनि बादल र टोपबहादुरले ओलीलाई नेता मान्दा गैर क्रान्तिकारी हुन्छ?’
उनले आफूले प्रधानमन्त्री नपाएको झोंकमा प्रचण्डले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हर्कत गरेको पनि गम्भीर आरोप लगाए। २०६९ सालमा माओवादीले नाम मात्रैको महाधिवेशन गरेको स्मरण गर्दै उनले त्यसयता कहिल्यैपनि महाधिवेशन नगरेको जिकिर गरे। उनले माओवादी केन्द्रमा वर्षैपिच्छे केन्द्रीय कमिटी परिवर्तन भैरहेको पनि खुलासा गरे।