टिप्परको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, सडक अवरुद्ध
विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका- १ मा टिप्परको ठक्कर बाट एक बालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका- १ सुखडमा बिहीबार बिहान १०:३५ बजे टिप्परको ठक्कर बाट घाइते भएका ६ वर्षीय बालक सुबम बस्नेतको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका आफन्तले जनाएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ क ३२८ नम्बरको टिप्परले बालक बस्नेतलाई बाटो काट्ने क्रममा ठक्कर दिई बालक लडेपछी ड्राइभरले पुनः टिप्पर पछाडि गरी बच्चालाई ठक्कर दिएको प्रत्यक्षदर्शी जुना अधिकारीले बताइन् ।
ठक्करको विरोधमा आन्दोलनकारीहरूले चक्काजाम समेत गरेका छन् । केहिबेर शान्तिपूर्ण चक्काजाम गरे पनि पेट्रोल छर्केर टायरमा आगो बाल्न खोज्दा प्रहरीले टायर हटाउँदा आगो सल्किई दुई जना प्रहरी सामान्य घाइते समेत भएका छन् ।
बालकको बाबु आमा रोजगारीको सिलसिलामा केही दिन अघि भारत गएका थिए ।