काँग्रेसका तीन गुट छुट्टाछुट्टै उम्मेदवार सिफारिस - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

काँग्रेसका तीन गुट छुट्टाछुट्टै उम्मेदवार सिफारिस



सोलुखुम्बु /असोज २३ ।

आन्तरिक विवादमा रहेको सोलुखुम्बुको काँग्रेसका तीनवटा गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय गुटले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्व सभापति आङ्गेलु शेर्पा र समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीको नाम पठाएको छ । त्यस्तै पुरुषोत्तम बस्नेतको गुटले गोकर्ण राईलाई प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको छ ।

 

देउवा पक्षीय नेता कृष्णप्रसाद निरौलाले पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको सूचीमा प्रतिनिधिसभाको समानुपातिकमा केसीका अतिरिक्त केशरबाबु थुलुङ, रामबहादुर बस्नेत, पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, गोकर्ण राई, छत्रध्वज बस्नेत, चन्द्रप्रसाद आचार्य, सरला नाछिरिङ, धर्मबहादुर नेपाली र टंकिमाया बस्नेतको नाम सिफारिस गरेको छ ।

यता काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी पक्षको नेपाली काँग्रेस जिल्ला समिति सोलुखुम्बुले पनि प्रदेश तथा प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ बलबहादुर केसी र खिलराज बस्नेतको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रभुराम बस्नेतको नाम छनोट गरेको छ ।

स्थानीय तहको चुनावमा प्रमुख र उपप्रमुखबाट पराजित उम्मेदवारले पनि प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न नपाउने काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको भए पनि सोलुबाट स्थानीय तहमा हारेका समेत परेका छन् । केसी प्यानलबाट सिफारिस भएका खिलराज बस्नेत, धनजन राई, भोजराज कार्की स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका हुन् । त्यसैगरी शेर्पा प्यानलबाट सिफारिस भएका रामबहादुर बस्नेत पनि गाउँपालिका अध्यक्षमा पराजित भएका हुन् ।गोरखापत्र बाट