तीन वर्षपछि प्रधानमन्त्री दिने गरी प्रचण्डलाई तत्काल सह अध्यक्ष बन्न एमालेको आग्रह ! - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

तीन वर्षपछि प्रधानमन्त्री दिने गरी प्रचण्डलाई तत्काल सह अध्यक्ष बन्न एमालेको आग्रह !



काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि नेताहरु खटाएका छन् । पार्टी एकता संयोजन समितिको बैठक अगावै एकताको मोडालिटी बनाएर जाने विषयमा छलफल गर्नका लागि एमालेका तर्फबाट विष्णु पौडेल, माधबकुमार नेपाल र बामदेव गौतम सक्रिय छन् ।

त्यसैगरी माओवादीका तर्फबाट कृष्ण बहादुर महरा, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई प्रचण्डले छलफलमा खटाएका छन् । दुवै दलका नेताहरुले प्रचण्ड र ओलीलाई उपयुक्त पद दिएर मिलाउने विषयमा छलफल गरिरहेका छन् । तर छलफलले निष्कर्ष निकाल्न सकेको छैन ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीका नेताहरु तयार भए पनि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन एमालेका नेताहरु तयार हुन नसक्दा पार्टी एकता प्रक्रिया लम्बिएको बताइएको छ ।

प्रचण्डले भने आफूलाई पार्टी अध्यक्ष बनाउनुपर्ने माग राख्दै आएका छन् । एमालेले भने ३ वर्षपछि प्रधानमन्त्री दिने गरी प्रचण्डलाई अहिले सह अध्यक्ष बन्न आग्रह गरेको छ । पार्टी एकतासँगै अन्य पदको बाँडफाँट पनि छलफलको विषय बनेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख कसकसलाई बनाउने भन्ने विषयमा पनि कुराकनी भइरहेको छ ।

प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादीका नेताहरुको भनाई छ । आइतबार मात्रै पनि माओवादी नेता टोपबहादुर रायमाझीले कसैले जिद्दी गरेमा पार्टी एकता नहुने संकेत गरेका थिए ।तर एमालेका नेताहरुले भने सबैभन्दा ठूलो दल एमाले भएकाले एकतापछि अध्यक्ष केपी ओली नै हुनुपर्ने अडानमा छन् ।