“तिम्रो यादमा” विमोचित (भिडियो सहित) - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

“तिम्रो यादमा” विमोचित (भिडियो सहित)



फागुन ४  काठमाडौँ ।

गीतकार पासाङ तामाङको एकल रचना एवं सङ्गीतकार मनीपाल राईको एकल सङ्गीत रहेको गीतिसंग्रह ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ । अनामनगरस्थित विनायो क्याफेमा कार्यक्रमको आयोजना गर्दै एल्बमको सार्वजनिक गरिएको हो । चलचित्र पत्रकार सङ्घका अध्यक्ष शान्तिप्रिय, नेपाल साङ्गीतिक सङ्घका महासचिव सन्तोष श्रेष्ठ, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा, संगीतकला पत्रकार सङ्घकी उपाध्यक्ष विनिता मरहठ्ठा, म्युजिक खबर पाक्षिककी सम्पादक सबिता पोखरेल एवं पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीको हातबाट ‘तिम्रो यादमा’ गीतिसंग्रहलाई सार्वजनिक गरिएको हो ।

कार्यक्रममा एल्बमभित्र रहेका चारवटा गीतको म्युजिक भिडियो देखाइएको थियो । म्युजिक भिडियो हेरिसकेपछि एल्बमका बारेमा अतिथिहरुले पासाङ तामाङको गीति लेखन सङ्गीतकार मनीपाल राईको सङ्गीत व्यावसायिक धारमा रहेको बताएका थिए । प्रवासमा रहेर पनि गीतसंगीतको गहिराइमा पुग्न सक्ने, नेपाली माटो र मायाप्रेम सुहाउँदो गीत सङ्गीत सिर्जना भएको बताएका थिए । म्युजिक भिडियो पनि लोकेसन अनुसार प्रवासको ठाउँमा मेहनत गरेर बनाइएको अतिथिहरुले बताए ।

प्रवासमा रहेर घरबासको यादमा लेखिएका गीतहरुले मूलधारको गीतसंगीतको प्रतिनिधित्व गरेको सङ्गीतकार सन्तोष श्रेष्ठले बताए । पासाङ गीतलेखनमा खोट लगाउने ठाउँ नभएको बताउँदै गीतकार एवं पत्रकार शान्तिप्रियले गीतले सफलता पाउनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

चारवटा गीत रहेको तिम्रो यादमा नामक एल्बमका चारवटै गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । मैले हार्दा, कहिले तिमीलाई, बाँचुन्जेल सँगै बसौं, कहिले तिमीलाई जस्ता गीतहरू समावेश गरिएको एल्बममा अन्जु पन्त, प्रमोद खरेल, अमर राई र सुनिता पन्तको आवाज रहेको छ । मैले हार्दा, बाँचुन्जेल सँगै, कहिले तिमीलाई बोलको गीतको म्युजिक भिडियो मलेसियामा नै छायाँकन गरिएको हो भने प्रमोद खरेलको आवाजमा रहेको कहिले तिमीलाई बोलको गीतको म्युजिक भिडियो भने कोरियामा छायाँकन गरिएको हो । ‘तिम्रो यादमा’ एल्बमलाई शुभकामना मिडिया सोलुसनले बजार व्यवस्थापन गरेको छ ।