ओलीले प्रचण्डलाई तिल्के गोरुसँग तुलना गरेपछी... - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ओलीले प्रचण्डलाई तिल्के गोरुसँग तुलना गरेपछी…



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ फुक्लिएका प्रचण्डले आन्दोलन गर्ने धन्की दिएर आफूहरू नडराउने बताएका छन् ।

प्रचण्डले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नभए शान्ति प्रक्रिया डिरेल हुने भनी दिएको अभिव्यक्तिलाई ओलीले ‘सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ फू’ जस्तै भनेका छन् ।

दाङमा सोमवार आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमा अशान्ति मच्चाउने क्षमता र दम नरहेको दाबी गरे । उनले अहिलेको धम्की तिल्के गोरुले बहरसँग सिंगौरी नखेल्दासम्मको फाँ फू जस्तै हो उनले भने ।

ओलीले भने, ‘धेरै फुर्तिफार्ति गर्ने तिल्के गोरु एक दिन वहरसँग जुधेपछि सिङ भाँचिएर हिडे जस्तै यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँ फू गर्छन् तर यियनका सिङ फुक्लिसके । यिनीहरूसँग अशान्ति मच्चाउने क्षमता पनि छैन,दम पनि छैन । यिनीहरूले केही गर्न सक्दैनन्, धाक धक्कु नलाए हुन्छ । तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याट भ्याट नगरे हुन्छ ।

आफूले अशान्ति र अराजकता नचाहेको भन्ने तर अदालतले फैसला आफू अनुकुल गरेन भने नत्र…भन्ने खालका भाषा प्रचण्डले प्रयोग गरेको भन्दै ओलीले अब अशान्ति मच्चाउने धम्कीको अर्थ नरहेको बताए ।

ओलीले भने- अदालतप्रति भरोसा छ पनि भन्ने अनि हाम्रो पक्षमा फैसला गरेन भने नत्र..के भन्या ? शाकहारी आन्दोलनले भएन भनेर के भनेको ? बाघ जस्तै झम्ट भनेर नेपाली जनतालाई धम्क्याउन खोजेको ? म भन्न चाहान्छु एउटा जमाना हुन्छ कुनै पनि चीजको । तिल्के गोरुको सिङ भाँचिएको कथा मैले त्यसै भनेको होइन ।

सरकारले राम्रा काम गर्न खोज्दा खुट्टा समातेर चल्नै नदिएपछि अति भएर प्रतिनिधिसभा विघटन गरिएको ओलीको दावी छ । उनले आउने चुनावले त्यस्ता तत्वहरूलाई झुक्किएर पनि सांसद जिताउन नहुने बताए ।

विभाजित नेकपाका अध्यक्ष प्रचण्डले शुक्रवार रत्नपार्कमा आयोजित आमसभामामा अदालतले प्रतिनिधिसभा पुन:स्थापना नगरे शान्ति प्रक्रिया डिरेल हुन सक्ने बताएका थिए । उनले यद्यपी आफू अशान्ति मच्चाउने र हिंसा निम्त्याउने पक्षमा नरहेको पनि बताएका थिए ।