गोरखापत्र संस्थानबाट टिकाराम राई बर्खास्त: अर्थमन्त्री गम्भीर आरोप - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गोरखापत्र संस्थानबाट टिकाराम राई बर्खास्त: अर्थमन्त्री गम्भीर आरोप



काठमाडौं- गोरखापत्र संस्थानमा ब्यापक सुधार गरेका भनिएका टीकाराम राई बर्खास्त भएका छन् । राईले गोरखा पत्रमा निकै सुधार गरेको चर्चा चल्ने गरेको थियो।

तर राईले भने आफूलाई वर्खास्त गर्नुमा सञ्चारमन्त्री डा.युवराज खतिवडाको हात रहेको बताएका छन् । राईका अनुसार देशका महत्वपूण॔ सार्वजनिक संस्थाहरू बलियो हुन नदिने ग्रायण्ड डिजाइनमा आफूलाई खतिवडाले बर्खास्त गरेको आरोप लगाएका छन् ।

तत्कालिन संचारमन्त्री गोकुल बास्कोटा हुँदा गोरखापत्र संस्थान सुधारका लागि राईलाई सल्लाहकार बनाएर लगिएको थियो । उनी संस्थानमा गएपछि गोरखापत्रमा ठूलो सुधार भएको देखिएको थियो ।

उनी आएपछि संस्थानमा कर्मचारीहरुलाई कार्यालय समय १० देखि ५ बजेसम्म बस्नुपर्ने नियम कडा बनाएका थिए। उक्त नियम कडा पारिएपछि राजनीतिक कार्यकर्ता भर्ती केन्द्र जस्तै बनाएको संस्थानमा कार्यरत केही कर्मचारी राईसँग रुष्ट थिए। राईले रिसाएर गाली गर्ने गरेको आरोप उनीहरूले लगाउँदै आएका थिए।

पछिल्लो समय गोरखापत्रको कोहलपुर स्टेशनका लागि प्रेस किन्न राईको पहलमा बजेट माग गरिएको थियो। अर्थमन्त्री युवराज खतिवडाले त्यसका लागि आवश्यक ८ करोड बजेट नछुट्टयाएपछि राईले विरोध जनाएका थिए।

त्यहीँदेखि अर्थमन्त्री खतिवडा राईसँग असन्तुष्ट रहेका बेला सोमबार उनलाई सरकारले हटाएको हो।

आफू वर्खास्त भएपछि राईले सामाजिक संजालमा गुनासो पोखेका छन् ।

‘यो देशमा राम्रो काम गर्नेको भलाई हुँदैन रहेछ भन्ने मैले पनि अनुभव गरें । गोरखापत्रको सार्वजनिक रूपमै अनुभव हुनेगरी विकास र संस्थागत सुधार गरेबापत आज मलाई सरकारले वर्खास्त गर्यो । देशका महत्वपूर्ण सार्वजनिक संस्थाहरू बलियो हुन नदिने ग्रायण्ड डिजाइनमा युवराज खतिवडाको पहलमा यो निर्णय भएको हो,।’ राईले ट्विटमा लेखेका छन् ।