टिकापुर हत्याकाण्डको सनसनीपूर्ण खुलासा : प्रहरी मार्दा रेशमले काँधमा हात राखेर बधाई दिएका थिए ! - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

टिकापुर हत्याकाण्डको सनसनीपूर्ण खुलासा : प्रहरी मार्दा रेशमले काँधमा हात राखेर बधाई दिएका थिए !



टिकापुर हत्याकाण्डमा तत्काल दोषी ठहर भएका निलम्बित सांसद रेशम चौधरीको सम्बन्धमा सनसनीपूर्ण बयान सार्वजनिक भएको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको नरसंहारमा संलग्न भनी बुधबार मात्रै दोषी ठहर गरिएका रेशमलाल चौधरीसहित ११ जनामध्ये एक जना प्रतिवादीले दिएको बयानले यतिबेला सनसनी मच्चाएको छ ।

जिल्ला अदालत कैलालीमा साबिती बयान दिने क्रममा प्रतिवादी करन चौधरीले बयान दिने क्रममा आफूले प्रहरीलाई मार्दा रेशम चौधरीले काँधमा हात राखेर आफूलाई बधाई दिएको बताएका छन् ।

करन चौधरीले बयान दिने क्रममा भनेका छन्, ‘वारदात हुँदा मैले प्रहरीलाई मारे पश्चात मलाई रेशमलाल चौधरी र नाम थाहा नभएका व्यक्तिहरुले काँधमा राख्दै बधाई छ भाइ भनी भनेका थिए ।’

एसएसपीको हत्या हुँदा भिडियो रेकर्ड गरिएको थियो

त्यसैगरी प्रतिवादी करन चौधरीले अदालतमा बयान गर्ने क्रममा भनेका छन् कि प्रहरी अधिकारीहरुलाई हत्या गर्ने क्रममा त्यसको घिडियोसमेत बनाइएको थियो । जिल्ला अदालत कैलालीले तयार पारेको १ सय ९७ पृष्ठको फैसलाको पूर्ण पाठमा करनको बयानबारे उल्लेख गरिएको छ । उक्त बयानमा करनले भनेका छन्, प्रतिवादी राजाराम चौधरीले वारदातमा प्रहरीलाई मार्दाको अवस्थामा मोबाइलमा रेकर्ड गरेको देखेको हुँ । त्यहाँ अन्य मानिसले पनि रेकर्ड गरिरहेको देखेको हुँ तिनीहरुको नाम थाहा छैन ।’

करन चौधरी लगायतका प्रतिवादीको साविबती बयानका आधारमा तत्कालका लागि निलम्बित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।