त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब चौबीसै घण्टा संचालन हुने - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब चौबीसै घण्टा संचालन हुने



काठमाडौँ- यात्रु र उडानको चाप थेग्न नसकेपछि नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा संचालन गर्ने भएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार बबरमहलमा संचारकर्मीहरुसँग देशभरको हवाई यातायातको चाप घटाउन पहिले काठमाडौं विमानस्थललाई २४ घन्टा संचालनमा ल्याउन लागेको बताए ।
‘जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि काठमाडौं विमानस्थललाई २४ घन्टा संचालन गर्दैछौं,’ उनले भने ।

यसअघि ०७५ जेठमा पर्यटनमन्त्री रविन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा संचालन हुँदै आएको काठमाडौं विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म संचालनमा ल्याएका थिए । यो निर्णय भएको १० महिनापछि काठमाडौं विमानस्थलको धावनमार्ग रातको समयमा जीर्णोद्धार गर्ने ठेक्काको समय सुरु भएपछि पुन: उडान संचालनको समय घटेको थियो । त्यसपछि कोभिडका कारण लकडाउन लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल संचालन समय पनि खुम्च्याइएको थियो ।

यसैबीच प्राधिकरणले बिहीबारदेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग संचालनमा ल्याउँदैछ । ‘वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग संचालनमा ल्याउँदैछौं,’ महानिर्देशक अधिकारीले भने, ‘वैशाख ८ गतेदेखि आन्तरिक उडान गर्ने बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ वटा वायुसेवाले नयाँ धावनमार्ग प्रयोग गर्नेछन् ।’

अब पाइलटले वैशाख ८ पछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन् । ‘हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाहरुबारे विस्तृत प्राविधिक जानकारी एयरर्‍याक (एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौं । अब पाइलटले ककपिटमा र आफ्ना उपकरणमा भैरहवा विमानस्थलको पुरानो संरचनालाई चिन्ने छैनन,’ उनले भने । उनीहरुले अध्यावधिक गरिएको धावनमार्ग लगायतको प्राविधिक सूचना जेप्सन चार्टमार्फत पाउने भएकाले नयाँ धावनमार्ग बिहीबारदेखि संचालन हुन लागेको हो ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि संचालन हुने भए पनि अहिले अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्धजयन्तीबाट हुने छन् । तर, विदेशबाट आएका जहाज सिमराको आकाशमा होल्डमा फन्को लगाउनुपर्ने अवस्था आइहाले अब बंगलादेश र भारततर्फ डाइभर्ट हुनुपर्ने छैन । ‘अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै इमरजेन्सी कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन्,’ महानिर्देशकले भने,‘त्यहाँको टावर हामीले फागुन पहिलो सातादेखि नै संचालनमा ल्याइसकेका छौं । न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ ।’

कोरोनाको असर कम देखिएसँगै अहिले काठमाडौं विमानस्थलमा यात्रुको अत्यधिक चाप देखिन्छ । आन्तरिक उडान ५ घन्टासम्म डिले भइरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, दैनिक ३ सय ७० हाराहारी उडान भइरहेको काठमाडौंमा ४ सय १६ सम्म हुन थालेका छन् । दैनिक कम्तीमा २५ हजार यात्रु ओहोरदोहोर भइरहेका छन् । मौसमका कारण उडान प्रभावित हुँदा यात्रुको चाप टर्मिनल भवनले थेग्न सकिरहेका छैनन् । ‘आन्तरिक टर्मिनलले प्रतिघन्टा ४ सय र अन्तर्राष्ट्रिय टर्मिनल भवनले प्रतिघन्टा १२ सय यात्रुलाई सेवा दिने क्षमता हो । तर, हामी यो क्षमताभन्दा बाहिर धान्नै नसक्ने अवस्थामा गइसक्यौं,’ महाप्रबन्धक ठाकुरले भने ।

यो समस्या तत्काल हल गर्ने उद्देश्यले अब प्राधिकरणले रात्रि सुविधा भएका भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म संचालनमा ल्याउने निर्णय गरेको छ । यसअघि राति बढीमा १० बजेसम्म विमानस्थल खुल्थे । यो निर्णयले स्थानीय सहरमा कोभिडको मार खेपेका होटल, ट्याक्सी लगायतका पर्यटन व्यवसाय पनि चलायमान हुनेछन् । साथसाथै काठमाडौंले क्षमताभन्दा बढी थेग्नु परेको चापमा पनि कमी आउने छ । उडान ढिलाइ भएकै कारण घन्टौं यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले ब्यहोर्नुपर्ने सास्ती हटेर जाने भनिएको छ । त्यस्तै काठमाडौं विमानस्थलमा अवतरण गर्न नपाउँदा अन्तर्राष्ट्रिय उडानतर्फ २ घन्टासम्म सिमरामाथि आकाशमा फन्को लगाउनुपर्ने बाध्यता पनि कमी हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै प्राधिकरणले ७० वर्षअघिका देशभरका सबै टर्मिनल भवनलाई दुई वर्षभित्र भत्काएर नयाँ व्यावसायिक बनाउने भएको छ । ‘भारतको सहयोगमा बनाइएका भवनहरु चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समयअनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्दैछौं,’ अधिकारीले भने, ‘अब बन्ने भवन आधुनिक क्याफे शैलीका बनाउने छौं । जहाँ मानिसहरु उडान सेवा लिनमात्र होइन अन्य व्यावसायिक भेटघाट गर्न पनि आकर्षित हुनेछन् ।’