ठुलो मान्छे
बाबु रोका मगर
एक जना विद्दवान ब्राह्मणले भनेका छन् “जो अरू कसैको विचार/तर्क सुन्न चाहँदैन त्यो कट्टर हो, जो तर्क गर्न सक्दैन त्यो मूर्ख हो र जो तर्क गर्ने साहस गर्दैन त्यो नोकर हो” त्यसैले आज म “ठुलो मान्छे” को केही तर्क गर्न गइरहेको छु ।
आज ती अतीत वालापनलाई याद गरेर बस्छु यदाकदा मनमा तिखो सुईले घोपे जस्तो महसुस हुन्छ । बचपनमा स्कुल जाँदा बाटोमा कसैले सोधे भने पढेर के बन्छौ बाबु भन्दा “ठुलो मान्छे बन्छु” भनेर जवाफ दिने सायद म मात्रै नभएर म जस्ता कयौँ बाबु-नानीहरू हुनुहुन्छ होला ?
फाटेको जाङ्गे झोलामा च्यातिएका किताब कपी अनि पेन्सिल र कलमका टुक्रा बोकेर शिक्षा प्राप्त गर्नको लागि सरकारी स्कुलमा पढाइ गर्न जाने हामी कयौँ विधार्थीहरु मध्ये धेरै जस्तो बाबुहरू त पढेर ठुलै मान्छे बनेका छन् तर म भने सधैँ बाबु नै रहिरहे ।
उतिबेला पढाइमा खासै मन लगाएर पढिएन मैले सोच्थे कि हात्ती पढेर ठुलो भएको होर ? स्कुलमा साथीहरूले घोकी-घोकी पाठ कण्ठ गरेको देख्थे घरमा आएर पनि उनीहरूले गृहकार्य गरेको देख्थे मनमनै सोच्थे होइन साँच्चै ठुलो मान्छे बन्न यसरीनै रगेटिनु पर्ने हो त? ठुलो मान्छे कसरी बन्ने भन्नेवारे म सोच्ने गर्थे आज सबैले धन पैसा र मान प्रतिष्ठाको कुराकानी गर्दा बल्ल अहिले आएर थाहा भयो साँच्चै ठुलो मान्छे बन्न धेरै पढाइ गर्नुपर्ने रहेछ । धेरै पढेपछि ठुला-ठुला देश अनि ठुला-ठुला सहरमा गएर ठुला-ठुला मान्छेहरू सँग अङ्ग्रेजी भाषामा ठुला-ठुला कुराकानी गर्ने खाने लगाउने तरिका नै अर्कै हुदोरहेछ ठुलो मान्छेहरूको ।
त्यति सजिलो कहाँ रहेछ र राजै ठुलो मान्छे बन्न? मेरो साथीको कुरा गर्छु उ आज ठुलो मान्छे भएको छ उसले ठुलो मान्छे बन्न धेरै मेहेनत गरेको छ धेरै चिज गुमाएको छ आफूलाई जन्म दिने बाबु-आमा आफू जन्मेको ठाउँ अनि आफ्नो देश छोडेर विश्वको सबैभन्दा ठुलो विकसित देश अमेरिका पुगेको छ यसैका लागि उसले गरेको मेहेनत मेरो लागि ठुलो चुनौतीको कुरा हो मैले चाहेर पनि त्यो काम गर्न सक्दैन ।
किनकि मलाई पढेर ठुलो मान्छे बन्नु थिएन उसले जस्तै बाबुआमा जन्म थलो अनि जन्म भूमि छोडेर अर्कैको भाषा बोल्न अरूको इसारामा काम गर्न उचित लागेन आज उसको घरमा बुढा बाबुआमा मात्रै टुक्रुक्क बसेको देख्दा ठुलो मान्छे बन्नुको मतलब बुझेको छु जति बेला उ आफ्नै गाउँ आफ्नै देशमा थियो उसको कति राम्रो चर्चा थियो उसको सबैले ध्यान दिन्थे मान सम्मान इज्जत पनि त्यस्तै थियो किनकि उसले धेरै पढेको थियो । आज मैले उसलाई र म आफूले आफूलाई दाँज्न खोज्दा स्तर मेरो सानो भएता पनि बिचार चैँ उसको भन्दा मेरो नै ठुलो लाग्यो किनकि मेरा साथीहरू पैसा कमाउनको लागि धेरै पढेका रहेछन् तर मैले ज्ञान पाउनको लागि मात्रै थोरै पढे उनीहरूमा र म मा फरक यही नै हो कि ?
आजकल उनीहरू आफ्नो दुनियाँमा रमाएको देख्छु सोच्छु उनीहरूको पढाइ यसो-आराम गर्नको लागि जस्तो ठान्छु त्यसैले आजकल जो पनि पढाइ गर्न ठुलै देशमा गएको देख्छु । यहीकारण हो कि देशमा थोरै पढिलेखेका ब्याक्तिहरुले नै देश चलाउँदै छन् ? हाम्रो पढाइ यसो-आराम र पैसा कमाउनु मात्रै हो भने म त भन्छु यस्तो पढाइ नगरेको बेस पढाइ गरेर देशै छोड्नुपर्ने स्थिति आउँछ भने त्यो पढाइको के जरुरत वास्तवमा पढाइ शिक्षा पाउनको लागि नभएर पैसा कमाउनको लागि भएको छ । पढाइको आबश्यक्ता भएर नै होला सहरका गल्ली गल्लीहरूमा बोर्डिङ्ग खोलिएका छन् गाउँका सरकारी बिद्धालय गाभिदै छन् आजको पढाइ पनि साँच्चै नै व्यापार बन्दै गएको छ । मेरा छोराछोरीले आफूभन्दा ठुलो किताबको झोला बोकेर बोर्डिंग पढ्न गएको देख्दा कति दुख लागेर आउँछ किनकि उनीहरूलाई पनि ठुलो मान्छे बन्नु छ कठैबरा यो हरिबिजोग ? त्यसैले त म कहिल्यैपनि “ठुलो मान्छे” बन्न चाहेन ।
तपाइहामि मध्य हरेकको दिमागमा करोडौं डलरको विचार भरिएको छ समस्या यो छ कि प्राय हामी मानिसहरूलाई यो विचारलाई कसरी करोडौं डलरमा बदल्ने भन्ने कुरा थाहा छैन । धेरै पढिलेखेका व्याक्तिहरुको सोच पनि ठुलै हुने भएकोले उनीहरू सँग बोली भाषा पनि नमिलेको जस्तो भान हुने गर्छ यस्सो आफूले नेपालीमा कुरा गरे पनि उनीहरूले अङ्ग्रेजी नै पड्काएपछि साँच्चै नै ठुलो मान्छे हो जस्तो लाग्छ अनि यदाकदा उनीहरू सँग बोल्न पनि ओठ थरर्र काँपेर आउँछ यो अङ्ग्रेजी भाषा पनि कति ठुलो रहेछ ? त्यसैले होला दुनियाँका हरेक मान्छेहरूले यो भाषा बोल्न सिकेका ज्ञान विज्ञानका धेरै कुरा गर्छन् विकास र सामाजिकका कुरा चैँ एकदम थोरै गर्छन् । सायद उनीहरू देश छोड्नको लागि नै पढाइ गरे कि ? कुनैबेला एउटा नारा सुनेको थिए “आजको शिक्षा भोलिको आवश्यकता ” सायद यही नै होला हिजोको शिक्षाले आज “एनी हाउ पैसा कमाऊ” भन्ने लहर ल्याएको छ धेरै पढ्नेहरु किताबको हिरो जरुर बने तर ब्यबहारिकताको हिरो बन्न सकेनन् कि ?
चिल्ला गाडीहरू अनि चम्किला घरमा नोकरचाकर राखेर मौसम अनुसारको भ्रमणमा घुम्न निस्कने तर मजबुरी ब्याक्तिलाई सहयोग नै नगर्ने उल्टै मान खोज्दै ठुलो स्वरमा आफ्नो पहिचान गराउने वाह वाह क्या सान छ ठुलो मान्छेको पहिचान बोल्यो जान्ने भयो नबोलि हिँड्यो ठुलो भयो हामी मान्छेहरूको सोच ? मान्छे पद प्रतिष्ठामा जतिसुकै ठुलो भएतापनि असन्तुष्ट भएपछि सबैको मनमा यही कुरा खेलिरहेको हुन्छ रे काश म ठुलो मान्छे हुन्थे भने…. ? हामी मान्छेहरू लोभको भाँडो हो हामीलाई जति दिए पनि थोरै हुन्छ त्यसैले इच्छा भन्दा आबश्याक्ता लाई पुरा गरौँ किनकि मानिसको इच्छा कहिल्यै पुरा हुन सक्दैन ।
हामीले ध्यान दिनुपर्ने एउटा कुरा मान्छे आफू कहिल्यै ठुलो हुँदैन र आफूले आफूलाई ठुलो ठान्नु पनि हुँदैन तपाइहामिले गरेको कर्मलाई चिनेर बुझेर अरू मान्छेहरूले नै ठुलो बनाउछन त्यही नै ठुलो मान्छेको पहिचान हो । राम्रो कर्म गरौँ राम्रो अनि ठुलो मान्छे बनौँ ।