ठेक्कापट्टा कमिसनका भरमा नभई न्यायोचित ढंगले हुनुपर्छ:प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व सांसद मञ्चका पदाधिकारीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सुखी नेपाली, समृद्ध नेपालको चाहना पूरा गर्न पूर्व सांसदहरुको अनुभव प्रभावकारी हुने बताए।
‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो’, प्रधानमन्त्री ओलीले भने, ‘आफू सांसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्छ।’
नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकाले राष्टिकय एकताको भावना बलियो बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, ‘आपसमा भिडाएर द्वन्द्वको खेती गर्नेहरु सबैतिर सक्रिय हुन्छन्। उनीहरु द्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउँछन्।’
देशमा अनेक संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभूति जनताले पाउनुपर्ने प्रधानमन्त्री ओलीको तर्क थियो।
‘लोकतन्त्र आयो नि भन्ने तर त्यसको अनुभूति तल्लो स्तरको जनताले महसुष नगर्ने’, प्रधानमन्त्री ओलीले भने, ‘जनताले महसुस गर्नेगरी लोकतन्त्रको अनुभूति गराउनु यो सरकारको दायित्व हो।’
प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिसनका भरमा नभई न्यायोचित ढंगले हुनुपर्ने बताए।
‘सरकारको भ्रष्टाचार न्यूनीकरण गर्ने निर्मूल गर्ने नीति छ’ प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आडमा, शक्तिका आडमा कसैले पनि कानुन विपरीत काम गरेको सरकारलाई सह्य हुँदैन।’