नारायणहिटीको जग्गा बतासलाई दिने र ठेक्कामा संलग्नलाई कारबाही गर्ने आलेको तयारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफे सञ्चालनका लागि ठेक्का दिँदा भएका अनियमिततामा संलग्नलाई कारबाही गर्ने बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमामा भएको अनियमितताबारे छानबिन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका हुन् ।
“छानबिन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर भएका अनियमिततालाई कडाइका साथमा छानबिन गर्ने र कारबाही गर्नका लागि नै म यहाँ आएको छु । हामी प्रतिवेदनको माध्यमद्वारा अनुसन्धान र आवश्यक कारबाहीको लागि पहल गर्छौं । जसले यसमा कमी कमजोरी गरेका छन् ती सबैलाई कडा कारबाही हुनेछ,” आलेले भने ।
उनले नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखद भएको बताए । मन्त्री आलेले बतास समूहले आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिएर र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति विना नै १४ रोपनी जग्गामा नयाँ संरचना निर्माण गरेको पाइएको पनि बताए ।
मन्त्री आलेले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राम्रो काम गरेको’ भनेर धन्यवाद दिएको र राम्रो काम गर्न आफूलाई कसैले रोक्न नसक्ने बताए ।
उनले नारायणहिटी दरबारमा रहेको ऐतिहासिक सुरुङ (बंकर)भित्र पनि बतास समूहले व्यापार गर्ने योजना बनाएर काम गरेको बताए ।