सबैलाई आफ्नो थातथलोमा जाने ब्यबस्था मिलाइयोस: जनस्वास्थ्य विज्ञ - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

सबैलाई आफ्नो थातथलोमा जाने ब्यबस्था मिलाइयोस: जनस्वास्थ्य विज्ञ



डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

..
नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । बेरोजगारी तथा गरिबी दिनप्रतिदिन बढ्दै छ । यस्तो बेलामा सरकारले केहि ठोस कदम चाल्नु जरुरी छ ।

-संक्रमित तथा उच्च जोखिमयुक्त क्षेत्रलाई हटस्पट घोषणा गरि शिल गर्ने । त्यो क्षेत्रमा परिक्षण ब्यापक रुपमा बढाउने । शिल गरेका क्षेत्रमा दैनिक उपभोग्य सामानको सरकारले ब्यबस्था गर्ने ।

-कोरोना संक्रमण कहिलेसम्म रहने हो भन्ने निश्चित छैन । कुनै न कुनै रुपमा यो बर्ष संक्रमण रहिरहन सक्छ । तसर्थ हरेक सहरमा रोजगारी गुमेका, न्यून आय भएका, बिद्यार्थी लगायत गाउँ जान चाहानेलाई सुरक्षित रुपमा आफ्नो गाउँ जाने ब्यबस्था मिलाउने । सरकारले पर्याप्त राहत दिन सक्दैन भने आफ्ना नागरिकलाई बचाउने बैकल्पिक दायित्व सरकारले लिनुपर्दछ । ३ दिनको समय दिएर सेना, प्रहरी, सरकारी कार्यालय, साझा, बिद्यालय लगायतका बसमा सदरमुकामसम्म नागरिकलाई पुर्याउने ब्यबस्था सरकारले गर्नुपर्दछ । गाउँमा होम क्वारेन्टाइनमा बस्ने ब्यबस्था मिलाउन सकिन्छ । आफ्नो गाउँमा खेतीपाती गरेर परिवार पाल्ने, आफ्नो परिवारसंग संगै बस्न पाउने नागरिकको नैसर्गिक अधिकार हो ।

-नेपाल भारतको सीमामा हजारौं नेपाली अलपत्र परेर बसेका छन् । ती नागरिकलाई नेपाल ल्याएर १ महिनाको क्वारेन्टाइनमा राखेर आफ्नो घर पुर्याउने दायित्व पनि सरकारको हो ।

-धेरै नागरिक लकडाउनले गर्दा अन्य देशमा फसेका छन् । उनीहरु बेखर्ची भएर दुख पाएका छन् । उनीहरुको उद्दार गर्नु सरकारको कर्तब्य हो ।

-बैदेशिक रोजगारी, अध्ययन तथा ब्यबसायको लागि बिदेशमा लाखौँ नेपाली छन् । बिगत बीसौं बर्षदेखि रेमिट्यान्सले देश चलाएका ती नेपालीलाई दुख परेको बेलामा सरकार मौन बस्नु हुँदैन । उनीहरु आफ्नै खर्चले नेपाल आउन तयार छन् । हवाइजहाजको भाडा तिर्न नसक्ने पनि धेरै छन् । मन र मुटुमा नेपाल भएका ती नागरिकलाई सरकारले आफ्नो देश ल्याउने वातावरण मिलाउनु पर्छ । नेपाल तथा सम्बन्धित देशका एयरलाइन्स मार्फत ती नेपालीलाई नेपाल ल्याउन सम्भव छ । नेपाल ल्याएपछि सुरक्षाकर्मीको १ महिने क्वारेन्टाइनमा राखेर उनीहरुलाई आफ्नो थातथलोमा पुर्याउनु पर्दछ ।

-सहरबाट गाउँ र विदेशबाट स्वदेश आएका नागरिकलाई स्थानीय निकाय तथा प्रदेश सरकारले लोन दिएर स्वदेशमा काम गर्न प्रेरित गर्ने हो भने त्यो सिप सिकेको जनशक्तिले नेपाललाई छोंटो समयमा हराभरा बनाउनेछ । नेपालको समृद्धिको लागि यो ठूलो अवसर हो ।

-तत्काल नेपाल ल्याउन नसक्ने अवस्था भएमा त्यहाँको सरकारसंग कुटनैतिक छलफल गरेर आफ्ना नागरिकको गास, बास, कपास, स्वास्थ्य, सुरक्षा र रोजगारको ब्यबस्था मिलाउनु पर्दछ । नागरिकलाई सरकार चाहिने यस्तै बेलामा हो । दुखको बेला अभिभावकले बेवास्ता गर्ने हो भने त्यसको दीर्घकालीन असर प्रत्युत्पादक हुनसक्छ ।

-भुटानले आफ्ना २ जना नागरिक लिन नेपालमा चार्टर प्लेन पठायो । अन्य देशले पनि आफ्ना नागरिकलाई स्वदेश लगिरहेका छन् । के हाम्रो मात्र दायित्व छैन ? के संसारमा हामी मात्र गैह्रजिम्मेवार हुन मिल्छ ? कोरोना त नियन्त्रण हुन्छ तर आफ्नो नागरिकको मन नियन्त्रण नभए ?