सरकार र थारुहट–थारुवान संघर्ष समितिबीच सहमति
काठमाडौँ – सरकार र थारुहट–थारुवान संयुक्त संघर्ष समितिबीच आन्दोलनको क्रममा टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लागेका सबै मुद्दा फिर्ता र रिहाईका लागि पहल गर्ने सहमति भएको छ । सो प्रक्रिया संविधान र कानूनसम्मत रुपमा हुने सहमति पत्रमा उल्लेख छ ।
थारुहट–थारुवान आन्दोलनको क्रममा शहीद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई रहात उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा भएको धनजनको क्षतिको छानविन र मूल्यांकन गरि क्षतिपूर्ति उपलब्ध गराउन प्रक्रिया अघि बढाउनेसहितका ६ बुँदे सहमति भएको हो ।
संविधानमा उल्लेखित व्यवस्था र सर्वोच्च अदालतको फैसला अनुसार राज्यका हरेक तह र तप्कामा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समुदायको बारेमा संविधान अनुरुपको व्याख्या र व्यवस्था कायम गर्ने सहमति पनि भएको छ ।