थारूहरूको महान् पर्व माघीको अवसरमा कपिलवस्तु खिचडी महोत्सव सुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

थारूहरूको महान् पर्व माघीको अवसरमा कपिलवस्तु खिचडी महोत्सव सुरु



कमल बन्जाडे / कपिलवस्तु

थारु समुदायको महान् पर्व माघीको अवसर पारी सञ्चालन गर्न लागिएको आठौँ माघी (खिचडी) महोत्सव आज देखि सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा कपिलबस्तुले बिहीबार देखि गोरुसिङ्गेमा महोत्सवको आयोजना गरेको हो । माघी पर्व नजिकिए सँगै यति बेला कपिलवस्तुका थारु बस्तीमा चहलपहल पनि दिनप्रति दिन बढ्न थालेको छ ।

जिल्लाका विभिन्न सरोकारवाला निकाय सँगको समन्वयमा जिल्लाको गोरुसिङ्गे स्थित थारु कल्याणकारिणी सभाहलको प्राङ्गणमा गर्न लागिएको माघी महोत्सव तीन दिन सम्म चल्नेछ ।

थारु कल्याणकारिणी सभा कपिलबस्तुका अध्यक्ष एवं आठौँ माघी महोत्सवका संयोजक जंजिर प्रसाद थारुले महोत्सवको तयारी पुरा भएको बताउनुभयो । थारु समुदायको संस्कृति, रहन सहन र परम्परा बारे बुझ्नका लागी पनि महोत्सवको अवलोकन गर्न सम्पूर्ण कपिलबस्तुवासीलाई उहाँले आग्रह गर्नुभएको छ ।

माघी महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीले गर्नुहुने भएको छ । माघी महोत्सबमे थारु संस्कृतीके उमगं, थारुनके समुन्नती सङ्घीय संरचनाका सह” महोत्सवको मूल नारा तय गरिएको छ ।

महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरूको प्रदर्शनी, थारु खानाका परिकार आदि स्टलहरु रहनेछन् । महोत्सवमा थारु जातिको विभिन्न नाच तथा झाँकीहरुको प्रदर्शन रहनेछ । थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता रहने बताइएको छ । महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने महोत्सव प्रचार प्रसार तथा सास्कृतिक संयोजक श्री निवास चौधरीले बताउनुभयो ।