गृहमन्त्रीबाट राजिनामा दिने बादलको तयारी
काठमाडौं- नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा मिसिएको हल्ला चलिरहेका बेला उनले भने आफ्नो छुट्टै भेला डाकेर छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीले बिहानै आफू निकट सांसदहरूलाई बालुवाटारमै बोलाएर छलफल गरिरहका छन् । गृहमन्त्री बादल पनि उक्त छलफलमा भाग लिने ओली पक्षले दाबी गरिरहँदा उनी भने आफू निकट केन्द्रीय सदस्यलाई लिएर परामर्शमा जुटेपछि माहोल फरक बनेको छ ।
प्रधानमन्त्री ओलीलाई कारबाही गर्न आइतबार बालुवाटारमै बसेको स्थायी कमिटी बैठकमा बादल बादल नगएपछि अनेक अड्कलबाजी भैरहेका थिए ।
बादल ओलीको पक्षमा रहे पनि उनी निकट देव गुरुङ, पम्फा भुसाल लगायतका शक्तिशाली नेताहरु भने ओलीको विपक्षमा छन् । बादलमाथि मन्त्रीबाट राजीनामा दिन उनी निकट नेताहरुले दबाब बढाएका छन् ।
संसद भंग गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृतिप्रति असहमति जनाउँदै आइतबार नै सात मन्त्रीले राजीनामा दिँदा नै बादललाई राजीनामा गर्नुपर्छ भनी उनको समूहका नेताहरुले दबाब दिए पनि मानेका थिएनन् ।
स्रोतका अनुसार, आफ्नै समुहमा पनि अल्पमतमा परेपछि बादलले आफू निकट नेताहरूलाई बोलाएर परामर्श गरिरहेका छन् । उनी पक्षीय नेताहरूले भने सरकार छाड्न उनीमाथि दवाव बढाएका छन् ।
बादल समूहका नेतामध्ये स्वयं बादल र उनका सल्लाहकार सूर्यप्रकाश सुवेदी मात्र प्रधानमन्त्रीको पक्षमा छन् ।