राप्रपामा तनाव सुरु: कमल थापा समूहले लिङ्देनलाई गरे बहिस्कार - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

राप्रपामा तनाव सुरु: कमल थापा समूहले लिङ्देनलाई गरे बहिस्कार



काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा महाधिवेशन सम्पन्न हुनेबित्तिकै विवाद देखिएको छ । निवर्तमान अध्यक्ष कमल थापाले हारेलगत्तै उनीपक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले राजेन्द्र लिङ्देनलाई बहिस्कार गर्न थालेका छन् । महाधिवेशनपछिको पहिलो कार्यक्रममै थापा पक्षले पार्टीका नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बहिस्कार गरेको छ ।

आइतबार राप्रपाको नयाँ नेतृत्व चयन भएपछिको पहिलो कार्यक्रम थियो । राप्रपाको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूका लागि आइतबार प्रज्ञा प्रतिष्ठानमा प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा विवाद छताछुल्ल देखियो । अध्यक्षमा पराजित कमल थापा कार्यक्रममा अनुपस्थित रहे । साथै थापा निकट केन्द्रीय पदाधिकारी तथा सदस्यहरू पनि कार्यक्रम नसकिँदै छोडेर निस्किए ।

थापा निकट केन्द्रीय पदाधिकारी तथा सदस्यहरू पनि प्रमाणपत्र बुझेर बाहिरिएका थिए । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले भने थापा शपथग्रहण कार्यक्रममा आएको भए सुनमा सुगन्ध हुने बताएका थिए । थापा भने सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न व्यस्त थिए । यता शपथग्रहण र प्रमाणपत्र वितरण भइरहँदा थापा भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई आरोप लगाउँदै थिए ।

कार्यक्रममा थापा प्यानलबाट जित्ने पदाधिकारीहरू प्रमाणपत्र बुझ्ने बित्तिकै कार्यक्रमबाट बाहिरिएका थिए । थापाको प्यानलबाट जितेका वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, महामन्त्री भुवन पाठक र कुन्ती शाही प्रमाणपत्र बुझ्ने बित्तिकै बाहिरिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीमध्ये उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशमशेर राणा मात्रै अन्तिम समयसम्म बसेका थिए । राणा लिङ्देन प्यानलका हुन् भने पाण्डे अध्यक्षका दुवै उम्मेदवारको सूचीमा परेका थिए ।

प्रमाणपत्र लिएर बाहिरिएकामध्ये एक पदाधिकारीले भने उपाध्यक्ष तामाङको मर्यादाक्रम नमिलेका कारण कार्यक्रममा नबसेको बताए । ‘उपाध्यक्षहरूमध्ये बुद्धिमान तामाङ सबैभन्दा सिनियर हो । तर पाण्डेलाई अघि राख्ने काम भयो’ असन्तुष्ट एक पदाधिकारीले भने । पाण्डेले महाधिवेशनमा सबैभन्दा लोकप्रिय मतका साथ जित हासिल गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष थापा बाहेक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी भने उपस्थित थिए । जवकि राणाले यसअघि आफू लिङ्देनको पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए । यससँगै पराजित थापाले आइतबार बिहान एक होटलमा आफू निकट कार्यकर्ताहरूको भेला बोलाएका थिए । जुन भेलालाई थापाले अलग पार्टी बनाउनका लागि गरेको अभ्यासका रुपमा समेत व्याख्या भएको छ ।

२०६१ सालदेखि निरन्तर नेतृत्वमा रहेका थापाको पराजयलाई लिएर स्वतन्त्र विश्लेषकसहित विपक्षी पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले थापाको हारलाई उनको विरासत ढलेको संज्ञा दिएका छन् भने केहीले अब दक्षिणपन्थ झन् बलियो बनेको टिप्पणी गरेका छन् ।