गृहमन्त्री थापा र सांसद पौडेल राहत लिएर पुगे बाढी ग्रस्त क्षेत्र
काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादल र सांसद देबेन्द्र पौडेलसहितको टोली बागलुङको बाढी ग्रस्त क्षेत्रमा राहत सामग्री सहित पुगेको छ।
बुधबार मध्येरातमा ढोरपाटन नगरपालिका–७ भुजीखोलाको बाढीले ७० भन्दा बढी घरमा क्षति गरेपछि अत्यावस्यक राहत सामाग्री लिएर थापा र पौडेल त्यहाँ पुगेका हुन् ।
गृहमन्त्री बादल, सोही क्षेत्रबाट निर्वाचीत प्रतिनिधीसभा सांसद पौडेल र नेकपाका केन्द्रीय सदस्य बलावती शर्मा सहितको टोली नेपाली सेनाको हेलीकप्टरमा राहत सामग्री सहित ढोरपाटन पुगेको छ ।
राहतमा अति आवश्यक खाद्यन्न, त्रिपाल, टेन्ट, म्याट्रेस लगाएतका सामग्री रहेका छन् ।
बिहीबार पनि बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमनको लागि उडेको गृहमन्त्री सहितको टोली मौसम प्रतिकुलताको कारण बाटोबाटै फर्किएको थियो ।
![](https://himalpost.com/wp-content/uploads/2020/09/baglung1.jpg)
बुधबार मध्यरातमा खोलामा आएको बाढीले बगाएका मध्य हालसम्म १४ जनाको शव भेटिएका छन् । जसमध्य ६ जनाको मात्र पहिचान खुलेको छ भने ८ जनाको पहिचान हुन बाँकी छ ।
पहिचान खुल्नेमा स्थानीय केशमाया बि.क, कर बहादुर बि.क, जीवन बि. क र डल्लि बि.क, रिम कुमारी घर्ती र दिलमाया पुन रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।
बाढीको कारणले ३० देखि ३५ जना अझै बेपत्ता रहेको सांसद देवेन्द्र पौडेलले घटना स्थलबाट बताए । बाढीले ३१ घरमा पूर्ण र ७० भन्दा बढी घरमा आशिंक क्षति बनाएको छ ।