आन्तरिक छलफलमा जुटे लिङ्देन: थापालाई पुनर्विचार गर्न आग्रह - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

आन्तरिक छलफलमा जुटे लिङ्देन: थापालाई पुनर्विचार गर्न आग्रह



काठमाडौँ- पार्टीबाट अलग भएको घोषणा गरेपछि निवर्तमान अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आग्रह गरेको छ।

उनले मंगलबार उनले राजीनामा पत्र सार्वजनिक गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

‘अत्यन्त भारी मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन। सबैको भलो होस् भन्ने कामना गर्दछु’ राजीनामासँगै उनले भनेका छन्।

उनको राजीनामापछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी तथा नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन्।

पार्टीका एकजना प्रवक्ता मोहन श्रेष्ठले केहीबेरमा पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने बताए।

‘संवाद भइरहेको अवस्थामा समयको दबावमा परेर पार्टीसँगको संवाद भन्दा पनि नयाँ यात्राको तयारीमा उहाँ हतारिनु भयो’ श्रेष्ठले भने ‘उहाँको यो निर्णयबाट हामी आश्चर्यचकित भएका छौं। निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दछौं।’

यसअघि थापाले पटकपटक पार्टी अध्यक्षलाई पत्र लेखेर अधिवेशनका बेला राजा ज्ञानेन्द्रको भूमिका छानबिन हुनुपर्ने माग गर्दै आएका थिए। र, गत शनिबार अध्यक्ष लिङ्देनसँग भेटघाट पनि गरेका थिए। लगत्तै उनले आफ्ना निकटका नेताहरूसँगको छलफलमा नयाँ पार्टी बनाउने संकेत गरेका थिए।