आफ्नै पार्टीका सांसदलाई गगन थापाले दिए चेतावनी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

आफ्नै पार्टीका सांसदलाई गगन थापाले दिए चेतावनी



काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका सांसद लाई चेतावनी दिएका छन् । उनले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नु पर्ने भन्दै चेतावनी दिएका हुन्।

शनिबार सामाजिक सञ्जालमार्फत नेता थापाले वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नभएको जनाएका हुन्।

वैद्यले दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिने विश्वास थापाको छ। उनले भनेका छन्, ‘अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन।’

कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध ‘नाथुराम गोड्से खडा हुनुपर्ने’ अभिव्यक्ति दिएका थिए। गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।