नेपाल समूहलाई थप कडा कारबाही गर्ने ओलीको तयारी - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

नेपाल समूहलाई थप कडा कारबाही गर्ने ओलीको तयारी



काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा समानान्तर गतिबिधि गरिरहेका माधव नेपाल समूहसँग अब सँगै अगाडी बढ्न नसकिने निष्कर्ष निकालेका छन् ।

सँगै अगाडी बढ्न सक्ने आवास्था नभएपछि एमाले संस्थापन पक्षलाई चुनौती दिँदै देशभर समानान्तर समिति गठन गरिरहेको नेपाल-खनाल समूहलाई पार्टीमा निषेध नै गरेर जाने रणनीति ओली समुहले बनाएको छ । पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले संगै लैजान नसक्ने निष्कर्षमा ओली समूह पुगेको बताइएको छ ।

ओली समुहका एक नेताका अनुसार पार्टी एकताको लागि प्रधानमन्त्री ओलीले ठुलो प्रयत्न गरेपनि सबै निरर्थक भएको छ । उनका अनुसार पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले विभिन्न च्यानलबाट नेपाल समुहलाई मनाउने कोशिस गरेका थिए । तर नेपालले भने ओलीसंग मिलेर जान नसकिने संदेश पठाएका थिए ।

उनका अनुसार पार्टी एकताको पक्षमा धेरै काम गरिए पनि नेपाल पक्षका नेताले पछिल्ला दिनमा जेजस्ता गतिविधि गरेका छन्, त्यो बिल्कुलै पार्टी हितविपरित भएकाले अध्यक्ष ओलीले आन्तरिक छलफलमा सहकार्य असम्भव जस्तै रहेको बताउन थालेका छन्। त्यतिमात्र होइन पछिल्लो समय त एमाले मिलाउन लाग्नेहरूले पनि हरेस खाएको उनको दाबी छ ।

खनाल–नेपाल समूहले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरेको छ। यो समूहले मुलुकका ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ। खनाल–नेपाल समूहले पार्टी संस्थापन पक्षलाई चुनौती दिन थालेपछि अध्यक्ष ओली पक्ष पनि आक्रामक बन्दै गएको छ।

नेपाल पक्षले आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पक्षमा मतदान गर्ने वा फ्लोर क्रस गर्नेजस्ता अभिव्यक्ति दिँदै आएले पनि ओली समूह झनै सशंकित बनेको छ । पार्टी एकताको पक्षमा दोस्रो तहका नेताहरूले पनि अथक प्रयास गरेको र अहिले उनीहरू पनि हार खाइसकेको अवस्था छ ।

यता ओलीले नेपाल पक्षका नेताहरूलाई थप कारबाही गर्ने तयारी गरेका छन् । नेपाल पक्षले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको छ। यसबाट झनै आक्रोशित ओली नेपाल पक्षका नेताहरूलाई थप कारबाही गर्ने सोचमा पुगेका हुन्।

नेपाल पक्षले वडा तहसम्म समानान्तर कमिटी गठन गरेर एमालेको ठूलो पंक्तिलाई आफ्नो पक्षमा संगठित गरिरहेको छ। नेपाल पक्षले संगठित गरिरहेको पंक्ति पार्टी फुटाउनकै लागि भएको र त्यसबाट बनेको नयाँ दल अन्ततः माओवादीमा गएर मिल्ने सम्भावना देखिएको भन्दै ओली पक्षले अब एकता असम्भव जस्तै भएको निष्कर्ष निकालेको हो। तर नेपाल पक्षले भने ओलीले आफूहरूलाई निषेध गरेपछि मात्रै समानान्तर कमिटी बनाएर जानुपर्ने बाध्यता आइलागेको बताउँदै आएको छ।

‘त्यसकारण अब एकै ठाउँमा बस्नु भनेको पार्टीको क्षयीकरणमात्रै हो’, ओली निकट अर्का नेताले भने। ती नेताका अनुसार पछिल्ला दिनमा दुवै पक्षका सम्पर्क सूत्रबाट एकताका लागि पहल भएको थियो र तर त्यो पहल दुवै शीर्ष नेताले दिने गरेका अभिव्यक्तिकै कारण बिथोलिएको छ। खासगरी नेपाल पक्षका नेताहरूले ओली दक्षिणपन्थीको सहयोगी भएको आरोप लगाउँदै आएका छन्। ओलीले कम्युनिस्ट सरकार ढालेर अन्य दललाई सरकार बुझाउन चाहनेहरू नक्कली कम्युनिस्ट भएको बताउँदै आएका छन्। ‘दुवै नेता (ओली र नेपाल) का अभिव्यक्ति निकै असन्तुलित छन्। यस्ता अभिव्यक्तिले पनि एकै ठाउँमा बस्न सकिँदैन भन्ने संकेत गरिरहेका छन्’, ती नेताको दाबी छ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादीको एकता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन नेकपाभित्रको विवाद एमालेमा सरेको छ। एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय नेताहरू मात्र बोलाएर विधान संशोधन तथा नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि विवाद चुलिँदै गएको छ।