आधा बढी सांसदले बिद्रोह गरेपछि महन्थ ठाकुर संकटमा
काठमाडौं- जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधा भन्दा बढी सांसदहरूले विद्रोह गरेका छन् । ठाकुर समुहले बोलाएको बैठकमा शक्तिशाली नेताहरू नै गएनन् । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने ठाकुर पक्षको बिहीबारको बैठकले पनि देखाएको छ ।
हौसिएर उपेन्द्र यादवलाई काउन्टर गर्न हिँडेका महन्थलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । सत्ताबाट बाहिरिने बित्तिकै उनी फेरी साइजमा आएका छन् । सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो सांसद अनुपस्थिति भए ।
अर्को आश्चर्यको कुरा त के छ भने अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडाैंमै बसेर बैठकमा गएनन् । कोहीले काठमाडौंबाहिर भएको कारण देखाउँदै बैठकमा जान नसकेको बताएपनि सबैजसो नेताहरू काठमाडौंमै भएको पाइएको छ । बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राजकिशोर यादव, विमल श्रीवास्तव, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारी देवी खतवे, अमृता अग्रहरी, रानी मण्डललगायतका सांसद अनुपस्थित भए।
जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद थिए । यादव पक्षका ५ जना सांसदहरू वीमल श्रीवास्तव, उमाशंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरूङ कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको थियो । अहिले भने समीकरण बदलिएको छ ।
प्रतिनिधिसभा नै विघटन भए पछि विघटित भएको संसदीय दलको बैठकमा आफू नगएको प्रमोद साहले बताएका छन् । ‘संसद विघटन भइसकेको छ । विघटित भएको बैठकमा किन जाने ?,’ उनको प्रश्न छ । पछिल्लो समय साह ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् । अघिल्लो दिन ठाकुरले संसदीय दलको बैठक बोलाएको जानकारी सबैलाई गराएका थिए । काठमाडौंमै भएर पनि बैठकमा नगएका श्रीवास्तवले आफू विशेष कारणवश बैठकमा जान नसकेको बताए ।
बिहीबार बोलाइएको बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा भने उपस्थिति भएका थिए। गत वैशाख ३१ गते ठाकुर र महतोले भक्तपुरको डोलेश्वरमा बोलाएको बैठकमा उपस्थित भएका सांसदहरू पनि बिहीबार बोलाइएको बैठकमा गएनन् ।
एक नेताका अनुसार ठाकुर र महतोले संसद विघटनमा समर्थन जनाएकाले नेताहरू तुष्ट छन् । केहि नेताहरूले मुखै फोरेर भनेका पनि थिए सरकारमा सहभागी भएपनि संसद विघटनको मुद्दामा साथ् नदिन उनीहरूले आग्रह गरेका थिए । अहिले भने ठाकुर र महतो संकटमा परेका छन् ।
निर्वाचन आयोगले ठाकुर पक्षलाई बोलाएको १५ दिने सूचना तथा यादव पक्षले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा गराएको चिठीको बारेमा पनि बैठकमा छलफल भएको थियो । आयोगले पठाएको १५ दिने चिठीको कस्तो जवाफ दिने भन्ने बारेमा ठाकुरले बुधबार आफूनिकट कानुन व्यावासायीहरूसँग छलफल गरेका थिए ।
बिहीबार बोलाइएको बैठकमा १५ दिनभित्रै आयोगलाई जवाफ दिने निष्कर्ष निकालिएको थियो । ठाकुर पक्षले कार्याकारिणी फेरबदल र हेरफेर गर्ने अधिकार अर्का अध्यक्ष उपेन्द्र यादवको सहमतिमा ठाकुरलाई दिएको दाबी गर्दै बैठककोे माइन्युटिङको प्रतिलिपि आयोगमा बुझाएको छ ।
ठाकुरले बुझाएको कागजात किर्ते भएको भन्दै यादव पक्षले जालसाजी र किर्तेको मुद्दा हाल्ने धम्कि दिएको छ ।