ठाकुर समूहका सांसदहरूको पद अब के हुन्छ ? - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

ठाकुर समूहका सांसदहरूको पद अब के हुन्छ ?



काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सोमबार केन्द्रीय कार्यकारीणी सदस्यहरुसंग हस्ताक्षर गराईरेको निर्वाचन आयोगले फैसला सुनाउने भएको छ ।

निर्वाचन आयोगले सोमबार सबै प्रक्रिया पुर्याएर आजै साँझ निर्णय सुनाउने तयारी गरेको छ । साँझ ५ बजेसम्म सनाखत गराएर इजलासबाट आजै साँझ फैसला सुनाउने तयारी आयोगले गरेको छ ।

आयोगले उपेन्द्र यादव पक्षमा बहुमत देखिएकाले उसैलाई आधिकारिकता दिने लगभग पक्का जस्तै बनेको छ । तर पार्टीको आधिकारिकता यादव समुहले पाएपछि महन्थ ठाकुर समुहका सांसदहरूको सांसद पद के हुने भन्ने चासो जनमानसमा बढेको छ ।

कुन समूह आधिकारिक हो भन्ने निर्क्योल गरेपछि सांसद पदबारे आयोगले छुट्टै परामर्श गर्ने बताइएको छ । आयोगका एक पदाधीकारीले भने यस बिषयमा आयोगले हात नहाल्लने बताएका छन् ।

निर्वाचन आयोगमा सोमबार बिहान ११ बजेदेखि जसपाका दुबै पक्षका केन्द्रीय सदस्यहरुको ‘हेड काउन्ट’ भइरहेको छ । आयोगले कानून अनुसार बेलुका ५ बजेसम्मका लागि निर्वाचन आयोगको इजलासमा पुगेर सनाखत गर्न दुबै पक्षका केन्द्रीय सदस्यलाई समय दिएको छ । बेलुका ५ बजेपछि इजलासले फैसला लेख्ने र साँझ साढे ६ बजेसम्म निर्णय सुनाउने आयोगको तयारी छ ।

सनाखतका क्रममा राजकिशोर यादव, मनिष सुमन लगायतका पूर्वराजपा नेताहरु पनि उपेन्द्र यादवको पक्षमा उभिएपछि यादव पक्षले आधिकारिकता पाउने लगभग निश्चित देखिएको छ । निर्वाचन आयोगमा पुगेका यादव पक्षका नेताहरु उत्साही देखिएका छन् भने ठाकुर पक्षका नेताहरु निराश बनेका छन् ।

​आयोगले यादव पक्षलाई आधिकारिकता दिए पनि महन्थ ठाकुर पक्षका सांसदहरुको पद खारेजीबारे अलग्गै प्रावधान भएको बताइएको छ । राजनीतिक दलसम्बन्धी कानुनअनुसार जसले आयोगबाट आधिकारिकता पाउँछ, यसलाई दलको आधिकारिक मान्यता दिई अर्को पक्षलाई नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगले मान्यता दिन सक्नेछ भनिएको छ ।