चरम अल्पमतमा परेपछि जसपामा मनपरी गर्दै महन्थ ठाकुर
काठमाडौँ- पार्टीमा चरम अल्पमतमा परेका जसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीमा मनपरी गर्न थालेका छन् चरम अल्पमतमा परेका उनले एकपक्षीय रूपमा केन्द्रीय कार्यकारिणी समिति विस्तार गर्दै त्यसको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
आफ्नो पक्षमा बहुमत नजुटेपछि समस्यामा परेका ठाकुरले पार्टीमा आफू नरहने वा बिभाजन हुने पक्का देखेपछि मनपरी गर्न थालेका छन् ।
एकीकृत पार्टीको नाम दर्ता गर्ने क्रममा जसपाले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको विवरण आयोगमा बुझाएको थियो । उक्त समितिका सदस्यहरूमा अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत रहेपछि ठाकुर समस्यामा छन् ।
ठाकुर र यादव पक्ष एकअर्काविरुद्ध कारबाहीमा उत्रिएपछि त्यसको वैधानिकताको विवाद आयोगमा पुगेको थियो । आयोगले दुवै पक्षलाई केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहितको विवरण पेस गर्न भनेको थियो ।
यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयसहित विवरण पेस गरेको थियो । ठाकुर पक्षले पेस गर्न ढिलाइ गरेपछि आयोगले पछिल्लो पटक दिन किटान गरेरै सात दिन समय दिएको थियो । तर ठाकुर पक्षले विवरण पेस गर्नुअघि नै आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।
ठाकुरले केन्द्रीय कार्यकारिणी समितिमा सदस्य थप गरेको विषयलाई लिएर उनकै समूहका केही नेता भने असन्तुष्ट छन् । ठाकुरनिकट नेता जितेन्द्र सोनलले भने अध्यक्ष ठाकुरले थप २० जना सदस्य केन्द्रीय कार्यकारिणी समितिमा थप गरेको बताए । कार्यकारिणी समितिमा सदस्य थपघट गर्न ठाकुरलाई यसअघि नै अधिकार दिइएको उनले बताएका छन् ।